२०८१ बैशाख १४

सकिएकै हो त सेयर बजारको ‘बुल’, के छ प्राविधिक विश्लेषण?

जेठ ३१ गते सेयर बजारको परिसूचक नेप्से ३०२६ अंकमा पुगेर अहिलेसम्मलाई सर्वाधिक अंकको कीर्तिमानी कायम गर्यो। त्यसयता परिसूचक निरन्तर ओरालो लागेर सोमबार २८३४ अंकमा झरेको छ। बजार अझै घट्ने त्रास लगानीकर्तामा छ। यो बुलको चरण ३०२६ अंकबाटै अन्त्य हुने हो कि भन्ने आशंका समेत बढेको छ। 

सामान्यतः बजार उच्चतम विन्दुबाट २० प्रतिशत वा सोभन्दा बढी तल झरेमा बुलको चरण सकिएको मानिन्छ। तर त्यति धेरै अंकले बजार नघट्ने विश्लेषकको भनाइ छ। 

सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकार अहिलेको गिरावटलाई एउटा सुधारका रुपमा लिन्छन्।


Advertisement


‘अहिले बजार केही डिप करेक्सनमा देखिएको छ, यसको अर्थ बुल सकिएको होइन’ कुराकानीमा उनले भने ‘विगतमा बुलको अवधि १५–१६ सय दिनसम्म रहने गरेकोमा यो पटक ९ सय दिन मात्रै बितेको छ, अवधिको हिसावले अझै ४० प्रतिशतको बुल आउनै बाँकी छ।’ 

इलेभेट आधारमा हेर्दा परिसूचकले २५९० देखि २६४० को बिन्दुसम्म केही सपोर्ट लिने आधार देखिएको उनी बताउँछन्। तत्कालको सानो सपोर्ट बिन्दु २७९० रहेको उनले बताए। अहिलेको करेक्सनको अवधि केही लम्बिन सक्ने उनी बताउँछन्। 

‘यो बुलको चरणमा न्यूनतम ११५० को विन्दुबाट ३ हजार २६ पुगेर फर्केको अवस्था छ, यति धेरै अंक पार गरिसक्दा केही सुधार आउनु स्वभाविक हो’ उनले भने।  माथिल्लो बिन्दु २९८० को अंक पार नगरेसम्म दीर्घकालीन रुपमा बजार माथि बढ्ने संभावना नदेखिएको उनले बताए। 

अहिले समूहगत रुपमा हेर्दा बैंकिङ समूह नै प्रतिरोधकको रुपमा रहेको उनले औंल्याए। ‘बैंकिङ समूह धेरै डिफेन्सिभ देखिएकोछ तर माइक्रोफाइनान्स, हाइड्रोपावर, फाइनान्स र बीमा समूहमा अलि धेरै करेक्सन आउन सक्ने देखिन्छ।’ 

त्यस्तै विकास बैंक र अन्य समूहमा पनि मध्यमस्तरको करेक्सन आउने उनले बताए। होटल तथा पर्यटन क्षेत्र केही माथि बढ्न खोज्दै गर्दा फेरि करेक्सनको दिशामा देखिएको उनले औंल्याए। 

बजार बढ्दा जुन समूहहरु उच्च दरले बढ्ने गर्छन्, तिनै समूहहरु घट्दा पनि उच्च दरले नै घट्ने गरेको पाइन्छ।अहिलेको बुलमा बैंकिङभन्दा अरु समूहहरु नै उच्च दरले बढेकाले घट्दा पनि तिनै समूहमा ठूलो करेक्सन आउने मुनिकार बताउँछन्। 

अब लगानीकर्ता बैंकिङ समूहमा सिफ्ट हुन सक्ने उनको अनुमान छ। ‘पहिलो कारण त यो समूह डिफेन्सिभ छ, अर्कोतर्फ मूल्य राम्ररी बढेको अवस्था पनि थिएन, मूल्य अन्डरभ्यालुड नै छ’ उनले भने। 

सेयर बजारमा प्राविधिक विश्लेषणलाई मात्रै लिएर रणनीति बनाउनु जोखिमपूर्ण हुन्छ। विगतको ट्रेन्डलाई गणितीय माध्यमबाट गरिने  विश्लेषण मिल्न पनि सक्छ, नमिल्ने संभावना पनि त्यति नै हुन्छ। प्राविधिक विश्लेषण मात्रै नभई बजारलाई प्रभाव पार्ने अन्य सैद्धान्तिक आधारहरु पनि केलाउनुपर्ने जानकार बताउँछन्। 

बजार घट्नका लागि सैद्धान्तिक आधार कति बलिया छन् त?

अहिलेको अवस्थामा बजारबाट तुरुन्तै अन्ततिर ठूलो रकम जाने संभावना नदेखिएको मुनिकार बताउँछन्। ‘लकडाउन नै खुलिसकेको अवस्था छैन, कोरोनाको असर लामो समयसम्म देखिन्छ, अर्को चरण पनि आउन सक्छ त्यसकारण लगानी बाहिर जाने अवस्था देखिँदैन।’ बर्खाको समयमा घरजग्गाको कारोबार समेत न्यून हुने हुँदा स्टक मार्केट नै अहिले लगानीका लागि राम्रो माध्यम रहेको उनी बताउँछन्। 

अहिले दीर्घकालीन लगानीकर्ताका लागि बैंकिङ समूह केही सुरक्षित देखिएको उनको भनाइ छ। ‘तर कारोबार गर्नेका लागि अहिले उपयुक्त वातावरण होइन, दीर्घकालीन लगानी गर्नेले राम्रा कम्पनीमा क्रमिक रुपमा लगानी थप्दै जाँदा हुन्छ।’

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार घट्नुपर्ने कारण नै नभएका बेला धितोपत्र बोर्डले विज्ञप्ति निकालेर मनोवैज्ञानिक त्रास फैलिएको बताउँछन्। 

‘सेयर बजार घट्नका लागि ब्याजदर नै बढ्नुपर्छ, त्यो अवस्था अहिले होइन, अर्कोतर्फ लाभांश खाने बेला आएको छ’ उनले भने ‘सबैजसो बैंक तथा बीमा कम्पनीहरुको बिजनेस ग्रोथ राम्रो छ।’

तर बोर्डको विज्ञप्तिकै कारण कतिपयले धैर्यता र संयमता नै गुमाएको उनले बताए। ५१ कम्पनीलाई बोर्डले जोखिम भनेपछि केहीलाई खेल्ने मौका मिलेको उनको भनाइ छ। उनले भने ‘पैसा लिएर बसेकाहरु पनि लगानी गर्न आएनन्, टाठाबाठा नाफा बुक गरेर निस्किए, अहिले त्रासदीपूर्ण वातावरण बन्यो।’

घटेको बजारलाई अब मौकाको रुपमा हेर्नुपर्ने उनी बताउँछन्। ‘राम्रा, बलिया, लाभांश आउने कम्पनीहरु छनौट गरेर लगानी गर्नुपर्छ, खराब कम्पनी छन् भने त्यसलाई बेचेर राम्रो कम्पनीमा लगानी स्थानान्तरण गर्नुपर्छ’ उनले भने। 

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यध्यक्ष तारा फुल्लेल पनि रौनियारको भनाइमा सहमत छन्। बैंकिङ प्रणालीमा अहिले पनि लगानीयोग्य रकम पर्याप्त रहेको, ऋण जाने अवस्था नरहेको र आर्थिक वर्ष सकिने बेलाको विकास खर्चले तरलता बढ्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए। 

‘कोरोनाले अन्य क्षेत्र अझै केही महिना प्रभावकारी रुपमा संचालन हुन सक्दैन, अर्कोतिर लाभांश खाने समय आउँदैछ त्यसकारण बजार घट्ने आधार देखिएको छैन’ उनले भने। 

अर्का लगानीकर्ता पिताम्बर शर्मा खरेल लकडाउन क्रमिक रुपमा खुकुलो हुँदै जाँदा अन्य क्षेत्रमा पनि केही लगानी डाइभर्ट हुने भएकाले बजारमा देखिएको असर सामान्य रहेको बताउँछन्। 

‘कतिपय व्यवसायी लकडाउनका बेला सेयर बजारमा लागे, अब व्यवसाय पनि खुल्न थालेका छन्, लगानी त्यता पनि चाहिएको छ, सेयर बेचेरै लेजाने हो’ उनले भने ‘त्यस्तै आयात बढ्न थालेसँगै भोलिका दिनमा तरलतामा पनि चाप पर्न सक्छ।’ 

यी केही पक्षले असर पारे पनि बजारमा आएको अहिलेको गिरावट एउटा ‘डिप करेक्सन’ मात्रै हुने उनको बुझाई छ। ‘अहिलेसम्म २ सय अंक मात्रै घटेको छ, कुनै डिप करेक्सनविना त्यति धेरै माथि पुगेको बजार ४–५ सयसम्म घटे पनि सामान्य हो, आत्तिनुपर्ने अवस्था नै होइन’ उनले भने।

सेयर खरिद गर्नेहरुका लागि अर्को अवसर आएको उनी बताउँछन्। ‘बजार घट्नु त किन्नलाई ठूलो अवसर हो, संसारमा जहाँसुकै बजार सधैं बढिरहने वा घटिरहने त हुँदैन’ उनले भने ‘बजार बढ्दा मात्रै नभई घट्दा पनि उपयोग गर्न जान्नेहरु मात्रै वास्तवमा खेलाडी हुन्।’

आगामी मौद्रिक नीतिले पनि अबको बजारलाई डोहोर्याउने क्षमता राख्छ। हालसम्म सेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो १८० दिनको कुल मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ। सेयर बजार न्यूनतम अंकमा रहँदा भएको व्यवस्था अब परिवर्तन पनि हुन सक्ने छ। 

तीबाहेक बैंकहरुको मर्ज तथा एक्वीजिसनका लागि राष्ट्र बैंकले लिने नीति, नउठेको कर्जा उठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई दिने सुविधा, तरलता बढाउन तथा व्याजदर स्थिर राख्नका लागि गरिने व्यवस्थाहरुले पनि बजारलाई प्रभाव पार्न सक्नेछ। 

सेयर बजारमा भएको लगानीबाट लाभ लिने स्वयम् आफै हो, जोखिमको भागिदार पनि आफै हुने हो। त्यसकारण संयमतापूर्वक लगानीले लगानीकर्तालाई मात्रै होइन, बजारलाई पनि स्थिरता प्रदान गर्दछ। 

Copy link
Powered by Social Snap