२०८१ बैशाख १४

कालोपत्रे माग गर्दै धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

६ असार, धनगढी । कालोपत्रेको माग गर्दै धनगढीमा स्थानीय वासिन्दाले हिलाम्मे सडकमा धान रोपेका छन् ।

धनगढी उपमहानगरपालिका–५ को हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ भएको सडकमा धान रोपेका हुन् । स्थानीय अनिल भण्डारीले तीन वर्ष अघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए ।


Advertisement


उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्रे गर्न चासो नदिएका कारण निर्माणका लागि दबाब दिन रोपाइँ गरिएको उनले बताए । ‘तीन वर्षअघि सडक कालोपत्रे हुँदा कुनै खालको समस्या थिएन । तर पुनः कालोपत्रे गर्ने भन्दै सडक भत्काइयो,’ भण्डारीले भने, ‘वर्षातका बेला आवतजावत गर्न सकिने अवस्था नै छैन । मानिसको मृत्यु हुँदा शव बोक्न सक्ने अवस्था छैन ।’

उपमहानगरपालिकाले आफूहरुको माग सुनवाइ नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएपछि वडा कार्यालयले सोमबारदेखि निर्माण व्यवसायीलाई काम गर्न लगाउने सहमति गरेको छ । आइतबार दिउँसो धनगढी उपमहानगरपालिका पुगेका उनीहरुले स्थानीय जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका थिए ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा ७३ लाख २६ हजार रुपैयाँमा झण्डै तीन सय मिटर सडक कालोपत्रेका लागि न्यू साहारा कन्सट्रक्सनसँग सम्झौता गरेको थियो ।

तर कोरोना महामारीको कारण देखाउँदै निर्माण व्यवसायीले काम नगरेपछि एक वर्ष म्याद थपिएको थियो । थपिएको समयभित्र पनि काम नगरेपछि पुनः कोरोना महामारीको कारण देखाउँदै निर्माण अघि बढाएको छैन ।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर प्रदीप शर्माले कोरोनाकै कारण काममा ढिलासुस्ती गरिएपछि तीन वर्षसम्म सडक कालोपत्रे हुन नसकेको बताए । उनले स्थानीय र वडा कार्यालयबीच भएको सहमतिअनुसार निर्माण व्यवसायीलाई सडकको निर्माण गर्न पुनः ताकेता गरिने बताए ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap