२०८१ बैशाख २१

सरकार मर्निङ वाक खोल्ने, प्रहरी बाटो छेकेर रोक्ने

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञालाई खुकुलो बनाइएको छ।

एक हप्ताका लागि लम्ब्याइएको

निषेधाज्ञालाई काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खुकुलो बनाउने निर्णय गरेको थियो।

त्यस निर्णयसँगै योपटक मर्निङवाक र इभिनिङ वाकमा जाने व्यक्तिहरूलाई पनि नरोक्ने भनिएको छ। त्यसमा तीन प्रमुख जिल्ला अधिकारी सहमत भएका थिए। तर लिखित आदेशमा उल्लेख गरिएको थिएन।

यसअघि जारी गरिएका आदेशमा प्रशासनले आउजाउमै रोक्ने भनेर आदेश जारी गर्ने गर्थ्यो। योपटक भने मौखिक रूपमा मात्रै मर्निङ वा इभिनिङ वाक जानेलाई नरोक्न भनिएको छ।


Advertisement


त्यसैक्रममा काठमाडौंको स्वयम्भूका राकेश महर्जन मर्निङ वाकमा हिँड्दा रोकिएका छन्। बिहान करिब सवा ६ बजे भगवान पाउबाट छाउनी अस्पताल जाने बाटोमा उनलाई प्रहरीले रोकेको हो। मर्निङ वाकमा निस्किएका अरूलाई पनि फर्काएको उनले जानकारी दिए।

‘म समाचार पढेर मर्निङ वाक गर्न बिहानै निस्किएको थिएँ। तर प्रहरीले मलाई रोक्यो। हामीलाई एक डेढ घण्टा होल्डमा राखिदिन्छौं पनि भन्नुभयो,’ महर्जनले भने,’मैले समाचारमा आएको कुरा पनि देखाए। जारी गरेको आदेशमा नलेखेको भए पनि सिडिओ साबले नै भन्नुभएको छ हेर्नुस् भन्दा पनि उहाँहरूले यो समाचार गलत हो भनेर भन्नुभयो।’

उनले ड्युटीमा खटिएका प्रहरीलाई कतिबेलादेखि चेकिङमा बस्न आएको भन्ने प्रश्नमा भने बिहानै ६ बजेदेखि मर्निङ वाकमा जानेहरूलाई रोक्नका लागि बसेको भन्ने जवाफ दिएको बताए।

त्यस्तै, तस्वीर खिच्दा समेत फोनबाट हटाउन लगाएको उनले बताए।

‘मैले तस्वीर पनि खिचेको थिएँ। तर अनुमतिबिना किन खिचेको भनेर हटाउन लगाए,’ उनले भने।

प्रहरीसँग केहीबेर भनाभन भएपछि प्रहरीले आफूहरूलाई छाडेको उनले बताए।

यसबारेमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले के भएको हो भन्नेबारे बुझ्ने बताइन्।

‘निषेधाज्ञा कडा पारेको बेलामा कोट गरेका थियौं। तर यसपालि हामीले आदेशमा कोट गरेका छैनौं। जाने नजाने हामीले भनेका छैनौं। जति हिँडे पनि हिँड भनेको चाहिँ होइन,’ नेपालले भनिन्, ‘सुरक्षाका मापदण्ड पूरा गरेर जानेहरूलाई भने समस्या नहोला। मर्निङ वाक भनेर सबै खुल्यो, हिँड भन्ने सन्देश पनि होइन तर मानिस आवतजावत गर्नेहरूलाई सहजीकरण गर्ने भन्ने कुरा भएको हो।’

उनले थपिन्, ‘सकेसम्म सुरक्षित हुने नागरिकको दायित्व र कर्तव्य पनि हो। भीडभाड नगर्ने भन्ने हो। अब मान्छेले आफ्नो दूरी कायम गरेर सुरक्षित तरिकाले हिँडेको छ भने त्यसलाई बढी नियमन गर्न परेन भन्ने खाली कुरा भएको हो। अवरोध पुर्‍याएको हो भने बुझौंला।’

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन भट्टले भने मौखिक आदेश ढिला आएको हुँदा त्यसो भएको बताए।

उनले बिहान ७ बजेसम्म हिँडडुल गर्नेहरूलाई रोक लगाएको बताएका छन्।

‘हामीलाई पहिला लेखेर दिएको थिएन। हाम्रो ५ बजेदेखि ड्युटी हुन्छ। पछि हामीलाई ७ बजेतिर मौखिक आदेश आयो। रिले नहुँदा सम्मकाहरूलाई रोकिएको होला,’ उनले भने, ‘सात बजेसम्म रोकेको थियो। लिखित हिजै आयो तर ७ बजे मौखिक रूपमा यसलाई कन्सिडर गर्ने भनेपछि रोकेनौं।’

पछिल्लो पटक काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो।

आजदेखि लागू हुने यो निषेधाज्ञामा खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ।

विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खोल्न पाइनेछ। होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने र अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने प्रजिअहरूले बताएका छन्।

तर यी सबै काममा सुरक्षाका मापदण्ड पालना अनिवार्य गर्नुपर्ने भनिएको छ।

Copy link
Powered by Social Snap