२०८१ जेष्ठ ४

लाखौं मूल्यको तरकारी बारीमै कुहियो, उनले बिषादी छर्केर बोट नै मारिदिए

दाङ नारायणपुरको चारबगियामा महेन्द्र खड्काले दश बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन्। खड्काले व्यवसायिक तरकारी खेती गर्न थालेको तीन वर्ष भइसक्यो।

उनले तरकारी लगाएको जग्गा उच्च मावि नारायणपुरको हो। भाडामा लिएर उनले तरकारी खेती गर्दै आएका छन्।

यो सिजनमा खड्काले दशमध्ये चार बिघामा टमाटर, झन्डै एक बिघामा क्रांका, दुई बिघा भेडे खुर्सानी र बचेको जग्गामा बोडी, पिरो खुर्सानीलगायत तरकारी रोपेका थिए।


Advertisement


जब उनको उत्पादन बजार पठाउनका लागि तयार हुँदै थियो, त्यही समयमा कोरोनाभाइरस महामारीको दोस्रो लहर सुरू भयो।

बाँके कोरोनाको हटस्पट बने पनि दाङमा निषेधाज्ञा सुरू भइसकेको थिएन। त्यही बीचमा उनले झन्डै २० लाख जतिको तरकारी बेच्न भ्याए।

दाङमा पनि वैशाख १७ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्‍यो। कोरोनाको दोस्रो लहरले धेरै मानिसको ज्यान लिएकाले सबैतिर त्रास थियो। निषेधाज्ञाले बजार, यातायात, उद्योग, व्यापार सबै ठप्प भए।

आवश्यकताअनुसार  दैनिक २० देखि ५० जना स्थानीयलाई काममा लगाउने खड्काले  श्रमिक पनि पाउन छोडे। फार्मभित्रै बस्ने दुई-चार जनाको केही जोर चल्दैन थियो।

त्यही समयमा टमाटर, कांक्रा, भेडे खुर्सानी लटरम्म फलेको थियो। पहिला खड्काको फार्ममा तरकारी किन्न बाहिरी जिल्लाका व्यापारी पनि आउने गर्थे। तर, यस पटक जिल्लाभित्रैका व्यापारी पनि तरकारी किन्न आएनन्।

आए पनि किलोको तीन रुपैयाँ, पाँच रुपैयाँमा खोज्नेहरू मात्रै आउन थाले। त्यति सस्तोमा बेच्नु र नबेच्नुको खासै भिन्नता खड्कालाई लागेन। अर्कोतर्फ त्यही मूल्यमा टमाटर खोज्नेहरूको संख्या एक-दुई जनामात्रै हुन्थ्यो। उनीहरू बढीमा १०-१५ केजी खोज्नेहरू हुन्थे। कि गाउँघरकै फुटकर ग्राहक आँउथे।

उनको बारीमा एकैसाथ हजारौं किलो टमाटर तयार थियो। समयमै बिक्री नहुँदा त्यो सबै टमाटर हप्ता-दश दिनमै कुहिन थाल्यो। जेठ पहिलो हप्तासम्म काँक्रा पनि बारीमा त्यसै गरी छिप्पिन थाल्यो। जेठको १५  पुग्दासम्म भेडे खुर्सानी पनि आधाउधी बोटमै पाकेर राताम्मे भयो। त्यो पनि दिनदिनै पाकेर चाम्रो हुँदै गयो।

लहलह फलेको लाखौंको तरकारी कुहिएको र चाम्रिएको टुलुटुलु हेर्नुपर्दा खड्काको मन निकै रोयो। रोएरमात्र केही हुनेवाला थिएन। किनकी निषेधाज्ञा लम्बिएको लम्बियै थियो।

खडकाले जोखिम उठाउने निधो गरे। उनले टमाटर र काँक्राको बोटमा झार मार्न प्रयोग हुने विषादी छर्किन लगाए।

विषादी छरेपछि बिस्तारै टमाटर र काँक्राका बोट सुक्दै जान थाले। त्यो देखेर आसपासका गाउँलेले उनीसँग पीडा र दुःख साट्न खोजे। 

स्थानीयलाई खड्काले सत्य कुरा खुलाएनन्। भनिदिए, नयाँखाले भाइरसले गर्दा सबै टमाटर र कांक्राका बोटहरू मरे।

Copy link
Powered by Social Snap