२०८१ बैशाख २१

अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन्। 

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार राति अस्ट्रेलियासँग खेल्दैछ। खेल कुवेत सिटीमा राति ९:४५ बजे सुरू हुनेछ। 

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ।


Advertisement


प्लेअफबाट एसियन कपको तेस्रो चरण पुग्न पर्ने अवस्थामा पुगेको नेपाली टिमका प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा मौका नपाएका युवा खेलाडीलाई अस्ट्रेलियाविरुद्धको खेलमा मौका दिने बताएका हुन्। 

‘यदि सबै राम्रो भएमा उनीहरुले खेल्नेछन्। अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने मलाई थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कुरा पनि महत्वपूर्ण हो,’ अस्ट्रेलियाविरुद्धको खेलअघि उनले भने।

‘हामीले अस्ट्रेलियाविरुद्ध राम्रो खेल खेल्नेमा आशावादी छु। हाम्रो खेल्ने शैलीमा सुधार आएको छ। हामीले समर्थकलाई खुसी बनाउन सकेका छौं।’

अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालले कडा मिहिनेत गरिरहेको र नेपालसँग खेल्न उत्साहित भएको बताए।

‘उनीहरुले फरक शैलीले खेलिरहेका छन्। प्रशिक्षकले राम्रो गरिरेहका छन्। हामी नेपाली टिमलाई सम्मान गर्छौं। नेपाल परिश्रमी टिम हो,’ उनले भने। 

प्रशिक्षक अर्नोल्डले नेपालविरुद्धको खेलमा टिममा परिवर्तन गर्ने बताए।

समूह ‘बी’ मा खेलेका सबै ६ खेल जितेर १८ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ। दोस्रो स्थानको जोर्डनको १३ अंक छ भने कुवेत १० अंकसहित तेस्रो स्थानमा छ। 

नेपाल ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पाँचौ स्थानको चाइनिज ताइपेईले सबै खेल हारेकाले अंक जोड्न सकेको छैन। 

कुवेतमा यसअघि नेपालले पहिलो खेलमा ताइपेईलाई २-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालमाथि जोर्डनले ३-० को जित निकालेको थियो।

Copy link
Powered by Social Snap