२०८१ बैशाख १३

‘प्रधानमन्त्री उदार भएपछि राजकिशोरलाई मन्त्री बनाउनु के ठूलो कुरा हो र!’

बिहीबार राष्ट्रपतिबाट सपथ लिँदै नवनियुक्त मन्त्रीहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय

बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गर्न खबर बाहिरियो। ओली मन्त्रिपरिषदमा सात मन्त्रालय खाली थिए त्यसैका लागि उनले एमालेका नेताहरूलाई मन्त्री बनाउन लागेका होलान् भन्ने धेरैको आँकलन थियो। किनकी सत्ता साझेदार जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहबाट अघिल्लो साता नै मन्त्री भइसकेका थिए।

महन्थ ठाकुर पक्षका १० जना नेतालाई मन्त्री बनाएका थिए। विघटित प्रतिनिधि सभाका २० जना सांसद आफ्नो पक्षमा भएकै आधारमा ठाकुरको भागमा ८ मन्त्री र २ राज्यमन्त्री परेका थिए।

ओलीले बिहीबार थप्न लागेका मन्त्रीमध्ये उद्योग वार्णिज्य तथा आपुर्ति मन्त्रीमा जसपा नेता राजकिशोर यादवको नाम आएपछि धेरैलाई आश्चर्य लाग्यो।

मन्त्रिपरिषद् बिस्तार हुने क्रममा यादवको नामबाहिर आएलगत्तै प्रधानमन्त्री ओलीनिकटका एक स्थायी कमिटी सदस्यलाई सोध्दा उनले यादवको नाम चर्चामा रहेको बताए।


Advertisement


मन्त्रीको नाममा चर्चामा आएका राजकिशोर यादव जसपाकै हुन् या एमालेका कोही नेता हुन अलि कन्फ्युज भइयो भनेर सोध्दा ती स्थायी कमिटी सदस्यले भने, ‘कन्फ्युज हुने होइन। एमाले त एकदम उदार छ। प्रधानमन्त्री केपी ओली पनि साह्रै उदार हुनुभएको छ। प्रधानमन्त्री उदार भएपछि राजिकशोरलाई मन्त्री बनाउनु के हो र!’

यादव मन्त्री बन्ने कुरा ठाकुर पक्षका केही शीर्ष नेताहरूलाई थाहा भएको भए पनि उनीनिकट कार्यकारिणी सदस्यलाई समेत थाहा थिएन। विस्तारित मन्त्रिपरिषदमा यादवको नाम रहेकोबारे जिज्ञासा राख्दा आफूलाई जानकारी नभएको एक कार्यकारिणी सदस्यले बताए।

‘राजकिशोरलाई मन्त्री बनाउने भएछ, थाहा भएन। बनाँउछ र? प्रधानमन्त्रीलाई कुरा त गरिराथे,’ ठाकुरनिकट एक नेताले भने,’उनलाई प्रधानमन्त्रीले वचनवद्धता गर्नुभएको थियो होला पहिलादेखि तर हामीले पार्दिएनौं त्यसैले होला। पार्टीमा त्यो विषयमा कुरा भएकोसमेत थाहा पाइएन।’

मन्त्री नभएर असन्तुष्ट बनेका यादव जसपा अध्यक्ष उपेन्द्र यादव समूहमा जाने तयारी गरेको ती नेताको भनाइ छ।

‘उतै जान्थे होलान्। असन्तुष्टि स्वभाविक हो,’ ती नेताले भने,’के मन्त्री बनाउँदैछ? उद्योग वाणिज्य मन्त्री नै हो र, ल गर्वै भएछ त।’

ठाकुरनिकट अर्का एक नेताले पार्टीको  आन्तरिक किचलो मिलाउनका लागि प्रधानमन्त्रीले ठाकुरलाई सहयोग गरेको बताए।

‘पार्टीको आन्तरिक किचलो तपाईहरूलाई थाहा छँदैछ। सबैतिर बहुमत पुर्‍याउनै पर्‍यो। प्रधानमन्त्रीले अलिकति सहयोग गर्दिनुभएको हो,’ ती नेताले भने,’अहिले यत्ति नै बुझौं। यो मन्त्रिपरिषदको आयु कति लामो छ, त्यो हामीलाई पनि थाहा छैन। फेरि पुनर्गठन हुन्छ। त्यसपछि एक चरणको प्लस माइनस फेरि हुनेवाला छ।’

उनले नेपालमा जति सांसद छन् त्यति नै मन्त्रालय खोल्न पर्ने अवस्था आएको बताए। जसपा सरकारमा जानुभन्दा पहिला यादव पनि मन्त्रीको दौडमा थिए। तर अन्तिम समयमा आएर उनको नाम परेको थिएन। विगतमा राजपा फुटाउने प्रयास गरेकाले यादव मन्त्री बन्न नपाएको ती नेताको दाबी छ।

‘उहाँ त मन्त्रीको रेसमा हुनुहुन्थ्यो। राजपा फुटाएर भए पनि सरकारमा जानुपर्छ भनेर नेतृत्व गर्ने मान्छे हो,’ उनले भने,’प्रधानमन्त्रीले राजकिशोरलाई भन्दा पनि महन्थजीलाई नै रूचाएको हो। अहिलेको परिवेशमा उहाँले महन्थजीलाई सहयोग गर्न खोज्नुभएको छ। महन्थजीलाई अप्ठेरो नपरोस् भन्नेमा उहाँ सचेत हुनुहुन्छ।’

ठाकुरनिकट दुई नेताको भनाइलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीकै चाहनामा यादव मन्त्री बनेका हुन्। उनीहरूकै भनाइलाई पत्याउने हो भने राजपा फुटाएर सरकारमा जानका लागि यादवले प्रधानमन्त्री ओलीसँग छलफल नै गरेका थिए। ओलीसँगको त्यही निकटताका कारण यादव मन्त्री बन्न सफल भएका हुन्।

२०७७ वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजनका लागि सजिलो हुने गरी अध्यादेश ल्याएका थिए। त्यही अध्यादेशका आधारमा तत्कालीन समाजवादी पार्टी विभाजन हुन लागेको थियो। रातारात तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) एक भएर जसपा बनेको थियो। त्यो बेलामा प्रधानमन्त्री ओलीले समाजवादी पार्टीसँगै राजपा पनि विभाजन गर्न चाहेका रहेछन्। जसको नेतृत्व यादवले गरेको ठाकुरनिकट नेताहरुको भनाइबाट पुष्टि हुन्छ।

गठन भएको एक वर्ष नबित्दै जसपा विभाजन भएको छ। कानुनी रूपमा पार्टी एक भए पनि राजनीतिक रूपमा जसपा दुइटा बनिसकको छ। जसपाका बहुमत कार्यकारिणी सदस्य अध्यक्ष उपेन्द्र यादवको पक्षमा छन्। ५१ सदस्यीय कार्यकारिणीमा ३० भन्दा बढी आफूहरूसँग भएको यादव पक्षको दाबी छ। यादव पक्षले जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ जनालाई पार्टीबाट निष्कासन गरेको छ। अर्कोतिर ठाकुर पक्षले पनि अध्यक्ष यादवलाई निष्कासन गरेको छ। दुबै पक्षले एक-अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाइसकेका छन्। यादवले पठाएको पत्रमा २७ जनाको हस्ताक्षर छ भने ठाकुरले पत्रमात्रै पठाएका छन्।

निर्वाचन आयोगले दुबै पक्षलाई अनुसूचीअनुसार पठाउन भनेको भए पनि यादवले पठाएका छन तर ठाकुरले समय मागेका छन्।

बहुमत सदस्यको खोजी भइरहेका बेलामा यादवले समेत ठाकुर समूह छोड्ने तयारी गरेका थिए। यादवले उपेन्द्र यादव समूहका नेताहरूसँग छलफलसमेत गरेका थिए।

‘हिजो मात्रै पनि हाम्रा साथीहरूसँग राति अबेरसम्म छलफल भएको थियो। उनी हामीसँगै आउँछन् भन्नेमा ढुक्क थियौं। तर आज एकाएक मन्त्री बनेका छन्,’ उपेन्द्र यादवनिकट एक नेताले भने,’राजकिशोर हामीसँग नआएर केही हुँदैन। किनकी हाम्रो बहुमत उनी नहुँदा पनि पुग्छ। तर उनले हाम्रो केही रणनीति भने थाहा पाएका छन्। जसले गर्दा हाम्रो समूहमा आउन लागेका ठाकुर समूहका केही नेतालाई रोक्न सक्ने खतरा छ।’

यादव मन्त्री बन्नुको पछाडि प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर दुबैको स्वार्थ मिलेको देखिन्छ। एकातिर प्रधानमन्त्री ओलीले आफ्नो वचन पूरा गर्नु थियो भने अर्कोतिर ठाकुरलाई आफ्नो समूहको पैह्रो रोक्नु थियो। अर्कोतिर प्रतिनिधि सभा पुनर्स्थापना भयो भने ठाकुर पक्षसँग बहुमत सांसद राख्ने ओली-ठाकुरको योजना स्पष्टसँगै देखिएको छ। यादवलाई मन्त्री नबनाए उनीसहित अरू पनि निवर्तमान सांसद उपेन्द्र यादव समूहमा जाने चर्चासमेत चलिरहेको थियो।

Copy link
Powered by Social Snap