२०८१ बैशाख ८

मन्त्रीले कठालो समानुभयो, केस फाइल गर्न जिल्ला प्रशासन जाँदै छु : राजेन्द्र रावल

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले आफूमाथि हातपार गरेको आरोप लगाएका छन् । उनले पार्टीको निर्देशनानुसार पत्र बुझाउन जाँदा सोमबार मन्त्री सोडारीले आफूमाथि दुर्व्यवहार गरेको बताए ।

सोडारीले पनि आफूमाथि दुर्व्यवहार भएको दाबी गरेका छन् । उनीहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।

“सुदूरपश्चिम सरकारले विश्वासको मत लिने कुरा अकस्मात् अस्ति साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएछ । त्यसबारे हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश इन्चार्ज लेखराज भट्टसँग कुरा भयो । मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्रीहरुलाई फिर्ता बोलाएको सन्दर्भमा संसदीय दलका नेता र प्रमुख सचेतकलाई पार्टीको ह्वीप जारी गर्न निर्देशन दिने र प्रत्येक सदस्यलाई पार्टीको तर्फबाट छुट्टै पत्र दिने कुरा भएको थियो । त्यही क्रममा हामी सदस्यहरुलाई पत्र बुझाउँदै गएका थियौँ । त्यसमध्ये कतिपय सांसदले पत्र बुझिसकेका थिए । मन्त्री रहेका दीर्घ सोडारी नेकपा एमालेबाट विजयी हुनुभएको थियो । कालन्तरमा उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । तर, उहाँ अहिले पनि सांसद हुनुहुन्छ ।


Advertisement


त्यसैले त्यो पत्र बुझाउनका लागि गएको थिएँ,” उनले भने, “ढोका खोलेर म बसेको पनि छैन, मन्त्रीज्यू नमस्ते, हजुरसँग सानो कुरा गर्नु थियो भन्दा उहाँ सिधै कुर्सीबाट उफ्रेर आएर गुन्डागर्दी शैलीमा कलर पक्रनुभयो । लछारपछार गर्नुभयो । सांसदहरुलाई बुझाउनका लागे मेरो हातमा बोकेको पत्रको बन्डल आधाजति च्यातिदिनुभयो । त्यहाँ भएका उहाँका पीएलाई भित्र ल्याउनु भनेर अभद्र ढंगले दुर्व्यवहार गर्नुभयो ।”

पार्टीको केन्द्रीय सदस्य, प्रदेशको सचिवलमाथि अभद्र शैलीमा मन्त्रीले मन्त्रालयको गरिमा बिर्सिएर हातपात गरेको उनको आरोप छ । उनले बाहिर निस्कने क्रममा आफूमाथि नराम्रो व्यवहार भएको बताउँदा पनि पहिले नै मन्त्रीले विज्ञप्ति निकालेर तिकडम गरेको आरोप पनि लगाए ।

“बाहिर निस्कने क्रममा मैले मन्त्रीज्यू, प्रधानमन्त्रीसँग आज बिहान कुरा भएको थियो । म तपाईंसँग कुरा गर्न यहाँ आएँ, तर ममाथि हातपात, अभद्र व्यवहार गर्नुभयो, यो ठिक भएन भने । उहाँले मैले गरेको छैन भन्दै आफूले गरेका कुकर्मलाई ढाक्न पहिले उहाँले नै विज्ञप्ति जारी गर्नुभयो,” उनले भने ।

मन्त्री सोडारीको सचिवालयले भने रावलले अभद्र व्यवहार गरेको दाबी गरेको छ । “मिति २०७८ साल जेठ २४ गते साँझ ७ः२५ बजे कञ्चनपुर जिल्ला बस्ने क. राजेन्द्र सिंह रावल सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा माननीय मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरी माननीय मन्त्रीज्यूलाई प्रदेशसभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेकोप्रति मा. मन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । आ.व. २०७८/०७९ को बजेट छलफलमा व्यस्त रहेको अवस्थामा मा. मन्त्रीज्यूको सचिवालय र अंगरक्षकलाई समेत छलेर मा. मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश हुने कुरा अशोभनीय छ,” विज्ञप्तिमा भनिएको छ “प्रदेशसभासँग सम्बन्धित वा अन्य कुनै विषयमा मा. मन्त्रीज्यूसँग कुरा राख्नुपर्ने भए छलफलको माध्यम हुँदाहुँदै गुन्डागर्दी शैली अपनाउनु प्रदेशसभा र प्रदेश सरकारको गरिमाको अपमान महसुस भएको छ । नेकपा एमालेको गौरवशाली इतिहासको हामी सम्मान गर्दछौँ । नवौँ राष्टिय महाधिवेशनको नेतृत्व र विधानप्रति हामी प्रतिबद्ध छौँ । अनधिकृत व्यक्तिहरुले धम्काउने, त्रसित पार्नेजस्ता गैरराजनीतिक क्रियाकलाप नगर्न सम्बन्धित पक्षलाइ सचेत गराउँद छौँ ।”

रावलले आफूमाथि मात्र नभएर सिंगो कमिटीमाथि दुर्व्यवहार भएको दाबी गरे । कारबाहीको माग गर्दै आफू जिल्ला प्रशासन कार्यालय जान लागेको पनि बताए ।

“पार्टीको निर्देशन पालना गर्ने क्रममा ममाथि भएको दुर्व्यवहार ममाथि होइन, समग्र सुदूरपश्चिम प्रदेश कमिटीमाथि भएको दुर्व्यवहार हो । सम्रग एमालेको केन्द्रीय कमिटीमाथि भएको दुर्व्यवहार हो । मन्त्री पदमा रहेका व्यक्तिले गरेको दुर्व्यवहारको कारबाहीको माग गर्दै जिल्ला प्रशासन जाँदै छु । कानुनले न्याय दिन्छ भन्ने विश्वास छ,” रावलले भने । उनले मन्त्री बन्न योग्य नभएको भन्दै कारबाहीको माग गरे ।

Copy link
Powered by Social Snap