


काठमाडौं । नशालु पदार्थ मिसाएको फ्रुटी खान दिएर पैसा र सुन लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–६ घर भएका अर्जुनबहादुर केसीलाई पक्राउ गरेको हो ।
Advertisement



केसीले काठमाडौं उपत्यकामा एक दर्जन ठाउँमा फ्रुटी खान दिएर लुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । ३८ वर्षीय केसी नशालु पदार्थ मिसाएको फ्रुटी बोकेर हिँड्थे । सुन लगाएको मानिस देखेपछि बैंक अथवा कुनै ठाउँ कहाँनिर पर्छ भन्ने सोधेर धन्यवाद भन्न छुटाउँदैन थिए ।

‘ठेगाना भनिदिनु भएकोमा धन्यवाद भनेपछि फ्रुटी दिएर फलो गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ’ एसपी बस्नेत भन्छन्–‘नशालु पदार्थ मिसाएको फ्रुटी खाएर मानिस गलेपछि लुटेर भाग्ने गरेको देखिन्छ ।’ भक्तपुरस्थित धुन्चे पाखा हाइटमा बस्ने अर्जुन जग्गाको काम पनि गर्छन् । उनले आफु पिसहोम नेपाल सुधार केन्द्र पनौतीमा कार्यरत रहेको प्रहरीलाई बताएका छन् ।
काठमाडौंको रत्नपार्कबाट २५ हजार नगद, सिफल चौरबाट ३५ हजार नगद, चावहिल पुलबाट २० हजार नगद र अरु विभिन्न ठाउँबाट उनले सिक्री र सुनका औँठी लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सुन लगाएर हिँडेका र लुट्न सक्ने खालका मान्छे छनोट गरेर केसीले लुटधन्दा चलाएको एसपी बस्नेतले बताएका छन् ।
साभार: रातोपाटी





