


काठमाडौं । नेपाली काँग्रेसका नेता एवं चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले काँग्रेसभन्दा कम्युनिष्ट १० गुणा बढी भ्रष्ट रहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले गरेको ‘राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’ विषयक अन्र्तक्रिया कार्यक्रममा डा. केसीले काँग्रेसले भष्ट्राचार गरेपनि डराएर गर्ने तर कम्युनिष्टले हाकाहाकी गर्ने उल्लेख गरे ।
उनले भने–‘काँग्रेसले डराई डराई खल्तीमा हालेर खान्छ तर कम्युनिष्टले सिधै टेबुलमै मागेर खाँदा रहेछन् । कम्युनिष्टले आफूभन्दा आधा उमेरकी केटी बिहे गरेर हेलिकोप्टरमा लाजै नमानी उडाउँदो रहेछ ।’
Advertisement



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संस्था नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको कार्यक्रममा बुद्धिजीवीमाथि नै व्यङ्ग्य गर्र्दै उनले नेपालमा कोही पनि बुद्धिजीवी नरहेको र सबै पार्टीको झोले रहेको उल्लेख गरे ।
उनले एउटा पार्टीको बुद्धिजीवीले आफ्नो पार्टीमात्र राम्रो मान्ने अर्को पार्टीको अस्तित्व नै स्वीकार नगर्ने चलन रहेकोले पार्टीको खास व्यक्ति बुद्धिजीवी हुन नसक्ने दावी गरे । उनले भने–‘नेपालमा कोही पनि बुद्धिजीवी छैन् । सबै झोले बुद्धिजीवी छन् । काँग्रेसको बुद्धिजीवी कम्युनिष्टलाई मन पर्दैन । कम्युनिष्टको बुद्धिजीवी काँग्रेसलाई मन पर्दैन ।’

नेपालमा नाम मात्रका कम्युनिष्ट पार्टी रहेको बताउँदै उनले परिवर्तन गर्छु भन्दै १७ हजार मारेर आएको पार्टी पनि उस्तै भएको जिकिर गरे । नुवाकोटमा आफ्ना दाजु अर्जुननरसिंह केसीको चुनावमा खुब मिहिनेत गरेपनि चुनाव हारेपछि तनाव भएको र परिवर्तन गर्न १७ हजार मारेको पार्टीले जितेपछि देशमा केही होला कि भन्ने आशा राखेर मन बुझाए पनि हेर्दाहेर्दै देशको अवस्था कहाँ पुग्यो भन्दै प्रश्न गरे ।
उनले राणा र काँग्रेसमा जति सामान्य नैतिकता पनि कम्युनिष्ट पार्टीमा नरहेको उल्लेख गर्दै प्रजातन्त्रपछि मोहन शम्शेरले कांग्रेस नेता सुवर्ण शम्शेरलाई सत्ता सम्पन्न खोज्दा उनले मातृका कोइरालालाई सिफारिस गरेको उल्लेख गरे । उनले भने– ‘अहिले सर्वहाराका लागि लडेको भनेको पार्टीले आफ्नै सहकर्मीलाई सत्ता सुम्पन नसक्ने ? अरुलाई प्रधानमन्त्री खानुस् भन्दै हिँड्नुपर्ने ?’
उनले पार्टीको नाम कम्युनिष्ट वा समाजवादी राख्दैमा केही नहुने भन्दै त्यस किसिमको आचरण हुनुपर्ने उल्लेख गरे । उनले हिटलरको पार्टीको नाम पनि सोसलिष्ट पार्टी, सद्दाम हुसेनको पार्टीको नाम प्रगतिशील पार्टी, उत्तर कोरियाको शासकको मजदुर पार्टी भएपनि त्यस अनुसारको काम नभएको बताए ।
उनले आफूले सानैदेखि आफ्ना दाजुबाट प्रजातन्त्र, मानवअधिकार, विधिको शासन, आवधिक निर्वाचन लगायतका कुरा सिकेको बताउँदै त्यसको सही व्यवस्थापनबाट जनताको हित हुने बताए ।
उनले देशको अहिलेको अवस्थामा वैज्ञानिक समाजवाद लागू गर्न नसकिने बताउँदै बहुलवाद, लोकतन्त्र रहेको, बोल्न पाइने व्यवस्था नै वैज्ञानिक समाजवाद रहेको टिप्पणी गरे ।
साभार: रातोपाटी





