२०८३ कार्तिक १२

भारत फर्किए हिजो आएका रेल, फेरि कहिले आउँछन् थाहा छैन

साभार: सेतोपाटी

शुक्रबार भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल शनिबार भारततिरै फर्किएका छन्। रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन्।

‘उहाँहरू दिउँसो १२ बजेतिर रेल लिएर यहाँबाट जानुभएको हो,’ रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझाले सेतोपाटीसँग भने,’अब ती रेल जयनगरको स्टेशनमा राखिनेछ।’

शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरले रेल नेपाल ल्याएर आएका थिए। नेपाललाई रेल हस्तान्तरण गर्न कंकोणका अरू १६ जना कर्मचारी पनि त्यही रेलमा जनकपुर आएका थिए।  

नेपालमा रेल चलाउने कर्मचारी र कानुन नभएकाले उनीहरूले आज रेल भारततिरै लिएर गएका हुन्।

जयनगरमा नेपालको आफ्नै स्टेशन छ। सोही स्टेशनमा अब ती रेल राखिनेछन्। सधैँ बन्द भएर इन्जिन नबिग्रियोस् भनेर बेलाबेलामा इन्जिन चलाइरहनु पर्छ। इन्जिनको हेरचाहसँगै रेलको अन्य सुरक्षा कंकोण कम्पनीले नै गर्ने ओझाले बताए।

‘यतातिर लिक पनि मेन्टिनेन्स गर्नु पर्नेछ, अब दुई महिनाभित्र फेरि रेल नेपाल आउँछ कि,’उनले भने।


Advertisement


जयनगर-जनकपुरमा रेल चलाउन लिकको मेन्टिनेन्सभन्दा महत्वपूर्ण कुरा कर्मचारी र कानुन नै छैन।

रेल्वे विभागले भदौ २९ गते रेल चलाउन १ सय ३० जना कर्मचारीको विज्ञापन खुलाएको छ। उक्त विज्ञापनको पदपूर्ति भएपछिमात्र रेल चलाउने कर्मचारी हुनेछन्। त्यसमा पनि ड्राइभर, सहायक ड्राइभरजस्ता प्राविधिक कर्मचारी भने तत्कालका लागि भारतबाट ल्याउनु पर्नेछ।

‘उताबाट केही समयका लागि प्राविधिक कर्मचारी ल्याउनेबारे हामी नेगोसियसन गरिरहेका छौं, ‘ विभागका महानिर्देशक बलराम मिश्रले भने।

रेल चलाउन अर्को समस्या कानुनको छ। रेलका सामान कसैले चोर्‍यो वा कुनै दुर्घटना भयो भने के गर्ने भन्ने स्पष्ट नभएकाले कानुनबिना रेल चलाउन गाह्रो देखिएको छ।

यसअघि जयनगर-जनकपुर रेल चलाउन २०१९ मा एउटा निकै छोटो कानुन थियो। उक्त कानुन अहिले सान्दर्भिक नभएकाले सरकारले रेल सञ्चालनसम्बन्धी नयाँ कानुन ल्याउन लागेको छ।

गत पुसमा राष्ट्रिय सभामा दर्ता भएको रेल्वेसम्बन्धी विधेयक अहिलेसम्म पास नभएकाले रेल चलाउन समस्या देखिएको हो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap