२०८१ बैशाख १८

बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ : डा राणा




नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले धनगढीको प्रसिद्ध बेहँडाबाबा धामको विकासका बारेमा छलफल गरिरहेको बताउनुभएको छ ।


Advertisement


धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहँडाबाबा धाम परिसरमा निर्माण भएका विभिन्न संरचनाको आज उद्घाटन गर्नुहुँदै कांग्रेसकी उहाँले यस क्षेत्रको प्रसिद्ध धामको विकास र विस्तारका बारेमा सुदूरपश्चिममा सोमबार सम्पन्न नेपाल–भारत मानसखण्ड सम्मेलनमा पनि छलफल भएको जानकारी दिनुभयो ।

नेत्री डा राणाले मुलुकमा अर्थतन्त्रको विकासका लागि धर्म संस्कृतिको प्रवर्द्धन गरी धार्मिक पर्यटनमा जोड दिनुपर्ने धारणा पनि राख्नुभयो । “देवभूमि सुदूरपश्चिम र भारतमा थुप्रै मठमन्दिर छन्” उहाँले भन्नुभयो, “प्राचीन धर्म संस्कृति कसरी चलिरहेको छ र यसलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि सम्मेलनमा चर्चा भयो ।”

गङ्गा दशहराका दिन यो मन्दिरमा लाग्ने मेलामा भारतबाट ठूलो सङ्ख्यामा आउने भक्तजन भगवान्को दर्शन तथा पूजा गरी फर्किन्छन् । सीमापारि भारतको उत्तर प्रदेशबाट आउने नागरिकले आफ्नो कुलदेवताका रूपमा बेहँडाबाबालाई पुज्ने गर्छन् ।



यो धामको विकासका लागि प्रदेश सरकार र धनगढी उपमहानगरपालिका कार्यालयले सक्दो बजेट विनियोजन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उपमहानगरपालिका कार्यालय र सहरी सघन विकास आयोजनाको झण्डै रु तीन करोड ३३ लाखको लागतमा यो धाम परिसरमा पर्खाल, १२÷१३ वटा चौतारो निर्माण र नजिकैको गङ्गामाताको तालसम्म पुग्ने सडकको ट्र्याक निर्माण कार्य गरिएको छ ।

नेत्री डा राणाले आजै धनगढी उपमहानगरपालिका–८ मा सञ्चालित धनगढी नमूना प्राविधिक विद्यालय (भाषा पाठशाला) को नवनिर्मित भवनको शिला अनावरण गरी उद्घाटन गर्नुभयो ।

 सो अवसरमा उहाँले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै आवश्यक थप पूर्वाधार जुटाउन सक्दो पहल गर्ने बताउनुभयो ।

  विद्यालयका प्रध्यानाध्यापक लक्ष्मणदत्त भट्टले विद्यालयका समस्या र प्रगतिका बारेमा प्रकाश पार्नुभएको थियो ।

  नेपाल सरकार र धनगढी उपमहानगरपालिकाको करिब रु छ करोड आठ लाख २० हजारको लागतमा निर्मित तीन तले उक्त भवनमा ३६ कोठा छन् । कक्षा कोठाको अभावको समस्या झेलिरहेको यो विद्यालयमा नयाँ भवन निर्माणपछि पठनपाठन सहज हुने देखिएको छ ।  

विद्यालयमा कक्षा १ देखि १२ सम्म नेपाली, अङ्ग्रेजी र सिभिल इन्जनीयरिङ विषयमा पठनपाठन हुन्छ । तत्कालीन समयमा भाषा पाठशालाको नामबाट विसं २००४ मा स्थापना भएको यो विद्यालय सम्भवतः कैलालीको पहिलो विद्यालय हो । 

विसं २०७४ मा नेपाल सरकारबाट नमूना प्राविधिक विद्यालयका रूपमा छनोटमा परेको यो विद्यालयमा हाल एक हजार सात सय १४ छात्र छात्रा अध्ययनरत छन् । उपमहानगरपालिमा सरकारी लगानीमा प्राविधिक विषयमा पठनपाठन हुने यो विद्यालय पहिलो हो । 

 समारोहमा प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको उपस्थिति थियो ।
Copy link
Powered by Social Snap