२०८१ बैशाख १९

शान्ति प्रक्रियाको जगमा कांग्रेस र माओवादी गठबन्धन : नेता केसी




नुवाकोट — नेपाली कांग्रेसका नेता एवं नुवाकोट २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले १२ बुँद्धे सहमति र शान्ति प्रक्रियाको जगमा कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन भएको बताएका छन् । केसीले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अडान र माओवादी अध्यक्ष प्रचण्डको स्वीकारका कारण शान्ति प्रक्रिया अघि बढेको स्मरण गराए ।



Advertisement



  विदुरमा शनिबार आयोजित संघीय/प्रदेश निर्वाचन २०७९ संयुक्त क्षेत्रीय बैठकमा केसीले अझै शान्ति प्रक्रियाका हकमा धेरै काम गर्न बाँकी रहेको आवश्यकता औंल्याए । तत्कालीन विद्रोही शक्ति माओवादी र कांग्रेसको नेतृत्वमा भएको त्यही १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताका कारण बनेको गठबन्धन राष्ट्र, राष्टियतालाई एउटा गतिलो जगमा उठाउने र देशमा आर्थिक विकासमा अघि बढ्ने बताए ।

उनले गठबन्धन सम्बन्धमा कांग्रेसभित्र पनि तर्क विर्तक रहेको र आफ्ना विचार, दृष्टिकोण भए पनि पार्टी निर्णयअनुसार गठबन्धनमा अघि जानुको विकल्प नरहेको उनको भनाइ थियो । उनले तन, मन र कर्मले सहयोग गरी गठबन्धनलाई निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि बताए ।



एमालेप्रति लक्षित गर्दै नेता केसीले भने,‘अहिले भ्रमका खेती र पुलिन्दा बाँड्ने काम गरिहेका छन्, त्यसलाई चिर्नुपर्ने आवश्यकता छ ।’ उनले ५ वर्षसम्म पदमा हुँदा पनि एमालेका नेताहरुले पुरानो सडक खण्ड पासाङ ल्हामु सडक निर्माणमा कुनै चासो नदिएको उनको आरोप थियो ।

त्यसैगरी राष्ट्रियता र स्वाधिनता रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं समानुपातिक उम्मेदवार बिमला सुवेदीले सबैले गठबन्धन उम्मेदवारलाई भोट दिन आग्रह गरिन् ।

प्रतिनिधिसभा समानुपातिक उम्मेदवार कांग्रेसका जगतबहादुर तामाङ, प्रदेश सदस्यका प्रत्यक्ष उम्मेदवारहरु कांग्रेसका बहादुरसिं लामा, माओवादीका रामप्रसाद ढुंगानाले एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

Copy link
Powered by Social Snap