२०८३ कार्तिक १३

कांग्रेस गण्डकीका सभापतिले भने– म माथि आक्रमण भयो, दोषीलाई कडा कारबाही होस् 

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले आफूमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको बताएका छन्।

पोखरा–२४ का वडा अध्यक्षका कांग्रेस उम्मेदवार भरतबहादुर केसीको समूहले आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको शर्माले बताए।


Advertisement


‘मलाई मार्छु भनेर आए, बिचमा साथीहरू भएकाले हातपात गर्न सकेनन्,’ उनले भने, ‘मलाई सिध्याउँछु भनेका थिए, सकेनन्।’

आक्रमणकारी समूहले आफूमाथि ‘डाँका शैली’ मा आक्रमण गरेको दाबी गरे। ‘म बसेको कुर्ची फालेर अत्यन्त विध्वंश गरे, डाँका शैलीमा,’ उनले भने, ‘पुरा डाँका शैलीमा ज्यान मार्ने धम्कीका साथ आए।’

उक्त समूहले पार्टी कार्यालयमा आएर सामान्य सोधपुछ र छलफल समेत नगरेको शर्माले बताएका छन्। कार्यालयमा शर्मासहित कांग्रेसका अन्य जिल्लाका कार्यकर्तासहित, प्रवक्ता माधव वास्तोला र कार्यालय सचिव प्रकाश बराल थिए। 

‘हामीसँग कुनै कुरा गरेनन्, धम्कीका साथ आए,’ उनले भने, ‘के हो, कसो पनि छैन, कुरा बुझ्नु छैन, मलाई सिध्याउन आएका रहेछन्।’

पोखरा महानगरको वडा नम्बर १८ र २४ को वडा अध्यक्ष माओवादीलाई दिन लागेको भन्दै कार्यकर्ता आन्दोलित छन्।

उनीहरुले बिहिबार दिउँसो पाँच दलीय गठबन्धनको पोखरा घोषणा पत्र सार्वजनिक कार्याक्रममा पनि नाराबाजी गरेका थिए। नाराबाजी पश्चात उनीहरुले प्रदेश कार्यालय पुगेको जनाएको छ। 

कांग्रेस गण्डकी सभापति शर्माले जिल्लाभित्रका पालिका र वडाको तालमेल मिलाउने जिम्मा जिल्लालाई दिएर रिपोर्टिङ मात्र मागेको बताए। वडा तहको टिकट वितरणमा प्रदेशले कुनै हस्तक्षेप नगरेको उनको भनाई छ।

गठबन्धनका शीर्ष नेताको सहमति अनुसार पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य उठेका छन्। उपमेयरमा कांग्रेस गण्डकीका सह-महामन्त्री कोपिला रानाभाट उठेकी छन्। पोखरा महानगरमा रहेका ३३ वटै वडामा कांग्रेस र माओवादीले वडा अध्यक्षको उम्मेदवार उठाएको छ। 

गठबन्धनको तालमेल अनुसार माओवादीलाई २ वटा वडा छाड्न लागेको भन्दै कार्यकर्ता आन्दोलित भएका हुन्। उनीहरुको तोडफोडले कांग्रेस कार्यालयको कुर्ची र टेबल भाँचिएको सभापति शर्माले जानकारी दिए। 

उक्त घटनामा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्न सभापति शर्माले माग गरेका छन्। उनीहरुलाई कारबाही नगरे मुलुकमा अराजकता र गुण्डागर्दी फस्टाउने उनले बताए। 

‘जे अपराध गरे पनि पुलिस र प्रशासनले कारबाही गरेन भने अराजकता र गुण्डागर्दी आउँछ,’ उनले भने, ‘न्याय र कानुन लागु हुने हो भने उनीहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap