२०८३ कार्तिक १२

लोसपालाई सरकारमा ल्याउन गृहकार्य गर्दै देउवा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरेका छन्।

प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग यसबारे छलफल गरिरहेका छन्।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपा अध्यक्षसहित शीर्ष नेताहरूले कुराकानी गरेका थिए।

‘लोसपालाई सरकारमा ल्याउन छलफल भइरहेको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘केही माग पूरा भएमा लोसपा सरकारमा आउन सकारात्मक देखिएको छ।’

रक्षा र उद्योग मन्त्रालयमा मन्त्री छैनन्, प्रधानमन्त्रीले नै हेरिराखेका छन्।

लोसपाले आफूहरूले उठाएका माग पूरा गर्ने प्रतिवद्धता सरकारबाट आउने हो भने सरकारमा सहभागी हुन सक्ने बताइरहेको छ।

लोसपा नेता केशव झाले माग पूरा हुने हो भने सरकारमा जान सकिने बताए।

‘प्रधानमन्त्री र पार्टीका नेताहरूबीच छलफल भएको हो। पार्टीले उठाएका माग पूरा हुने हो भने सरकारमा सहभागी हुन सकिन्छ भन्ने छ,’ उनले भने, ‘सरकारमा जानुपर्छ भन्ने साथीहरूका पनि धारणा छन्। तर प्रधानमन्त्रीले पनि यसबारे गठबन्धनभित्र कुराकानी गर्नुपर्ने होला।’

लोसपाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएको थियो।

आफ्ना कार्यकर्ताहरूलाई लगाइएका झुठा मुद्दा फिर्ता गर्नुपर्ने, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्नेजस्ता मुद्दा लोसपाले सरकारबाट सम्बोधन हुनुपर्ने माग गरिरहेको छ।

देउवा नेतृत्वको सरकारमा रक्षा र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री खाली छ। प्रधानमन्त्रीले नै यी दुई मन्त्रालय हेरिरहेका छन्।

नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए। यस्तै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटाबाट नियुक्त भएको भन्दै बिबाद भएपछि गजेन्द्रबहादुर हमालले पनि मन्त्रीबाट राजीनामा दिएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap