२०८१ बैशाख १५

एकै खेलमा तीन कीर्तिमान बनाएका करण भन्छन्- भविष्यमा अझै ४-५ ह्याट्रिक गर्न प्रयास गर्छु

नेपाल राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीका लागि बिहीबार विशेष दिन बन्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनी (पिएनजी) विरूद्धको टी-२० खेलमा करणले ह्याट्रिक लिएर कीर्तिमान बनाए।

नेपालको ५०औं टी-२० अन्तर्राष्ट्रिय खेलमा करणले आफ्नो करिअरको पनि ५०औं टी-२० अन्तर्राष्ट्रिय विकेट लिन सफल भए। 

टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने पहिलो नेपाली बलर बनेका करणको बलिङ टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि उत्कृष्ट बलिङ समेत हो। 


Advertisement


नेपाल ३७ रनले विजयी भएको खेलमा करणले ह्याट्रिकसहित पाँच विकेट लिँदा २१ रन दिए। 

करणले २०औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा पिएनजीको लगातार विकेट लिएर ह्याट्रिक गरेका थिए। उनले पिएनजीका चाड सोपरलाई अन्तिम ओभरको दोस्रो बलमा २ रन, अताइलाई तेस्रो बलमा शून्य र पोकनालाई चौथो बलमा शून्यमा आउट गरे। उनले सोपर र पोकनालाई क्याच गराउँदा अताइलाई बोल्ड गरे।

त्यसअघि उनले पिएनजीका ओपनरद्वय लेगा सिएका र असद भालालाई १-१ रनमा आउट गरेका थिए।

खेलपछि करणले पिएनजीविरूद्धको आफ्नो बलिङलाई विशेषको संज्ञा दिए।

‘मेरो लागि यो ह्याट्रिक विशेष हो। यो मेरो टी-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ हो। खुसी लागिरहेको छ। अब भविष्यमा अझै चार-पाँच वटा ह्याट्रिक गर्ने प्रयास गर्छु,’ करणले खुसी साटे।

नेपाली बलरको टी-२० को उत्कृष्ट बलिङ यहीँ नै हो भन्ने उनलाई खेलका दौरान भने थाहा थिएन। 

‘यो बलिङ प्रदर्शन नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो भन्ने थाहा थिएन। म आफ्नो उत्कृष्ट खेल्ने कोशिस गरिरहेको थिएँ,’ उनले भने। 

२०औं ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएपछि ह्याट्रिक लिने अवसर आएको थियो। ह्याट्रिक बलमा नेपाल फिल्डिङमा केन्द्रित भएको उनको भनाइ छ। 

‘सबैले फिल्डिङ प्लान नै गरिरहेका थिए। मैले पनि ब्याट्सम्यानले डिफेन्स गर्छ होला भनेर सोचिरहेको थिएँ। स्लो बल फालौं भन्ने थियो,’ उनले ह्याट्रिक गर्नुअघिको क्षण सम्झिए।

चौथो बलमा पिएनजीका ब्याटरले सट हान्ने बित्तिकै करणले सेलिब्रेसन गर्न थालेका थिए।

यसबारे उनले भने, ‘किनभने फिल्डर दीपेन्द्र थिए। अरु कोही भएको भए कुर्थे होला। तर दिप्पी भएर सेलिब्रेट गर्न थालेको हुँ।’

बलिङसँगै करण बिस्फोटक ब्याटिङ पनि गर्छन्। पछिल्ला वर्षमा उनलाई नेपाली टिमले बलर अलराउन्डरको रूपमा टिममा राखेको छ। जसमा उनी सफल समेत भएका छन्।

‘तीन चार वर्षदेखि लगातार टी-२० खेलिरहेका छौं। घरेलु प्रतियोगितामा पनि टी-२० खेलियो। यसले अभ्यास पनि भइरह्यो। टी-२० खेलमा मुड पनि बनिरह्यो,’ उनले आफ्नो बलिङबारे अघि भने, ‘बलिङमा भेरियसनहरू प्रयोग गर्नु पर्‍यो। सुरुवातमा कस्तो बलिङ गर्ने योजना बनाउनु पर्‍यो। घरेलु टी-२० को अनुभवले गर्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फाइदा पुगेको छ।’

उनले बलिङभन्दा आफूलाई ब्याटिङ गर्दा मज्जा आउने बताए।

‘बलर भएको कारणले होला ब्याटिङ गर्दा मज्जा आउछ। तर दुवैमा फिनिसिङ गर्ने मेरो प्रयास हुन्छ,’ उनले भने, ‘ब्याटिङमा अन्त्यतिर आउँछु। क्लिक गर्‍यो भने राम्रो हुन्छ नत्र नराम्रो हुन्छ। म सधैं बलिङ र ब्याटिङमा फिनिस गर्न प्रयास गरिरहेको हुन्छु।’

५० विकेट पार गरेका करणले भविष्य अरू रेकर्ड पनि बनाउने बताए।

‘५० विकेट लिन्छु भन्ने केही सोचेको थिएन। क्रिकेट खेल्ने हो, जहाँसम्म पुगिन्छ पुगिन्छ भन्ने लागेको थियो। भविष्यमा कति रेकर्ड बन्छ, कति भंग हुन्छ,’ उनले भने। 

फरक प्रसंगमा उनले गत महिना ‌ओमान भएको टी-२० विश्वकप छनोट चोटका कारण गुमाउन परेकोमा दु:ख व्यक्त गरे।

‘टी-२० विश्वकप छनोट चोटका कारण गुमाए। खेल्न सक्ने अवस्थामा थिइनँ। गाह्रो पनि भइरहेको थियो। खेल्नलाई प्रयास गरिरहेको थिएँ, तर पनि खेल्न सकिरहेको थिइनँ। उपचार पनि धेरै गरिसकेको थिएँ,’ उनले भने।

Copy link
Powered by Social Snap