२०८१ बैशाख १९

जिल्ला नेतृत्वका लागि एमाले नेताहरूको दौडधुप

जिल्ला अधिवेशन आउन एक साता मात्र बाँकी रहँदा नेकपा एमाले लुम्बिनी प्रदेशका जिल्लामा आकांक्षीहरूको दौडधुप सुरू भएको छ।

पुस मसान्तसम्म देशभरका सबै जिल्लाहरूको आगामी नेतृत्व टुंगो लगाउने निर्णय गरेको एमालेले लुम्बिनीका ११ जिल्लामा एकैपटक पुस २३ गते जिल्ला अधिवेशनको मिति तय गरिसकेको छ।


Advertisement


हिमाली जिल्ला मानिने पूर्वी रूकुममा भने चिसो बढी हुने भएकोले पुसमा अधिवेशन नहुने भएको छ। जिल्ला अध्यक्ष टोपबहादुर ओलीका अनुसार रूकुम पूर्वमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशनको टुंगो लाग्नेछ।

बाँकी ११ जिल्लामा भने नेतृत्व हत्याउन जिल्ला तहका नेताहरूमा आन्तरिक दौडधुप सुरू भएको छ।

एमालेको दसौं महाधिवेशनबाट लुम्बिनी प्रदेशबाट उपाध्यक्षद्वय विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवत्रय टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र गोकर्ण विष्ट निर्वाचित भएकोले पनि लुम्बिनी प्रदेशका जिल्लाहरूको नेतृत्वलाई पार्टिभित्र समेत महत्वपूर्ण रूपमा लिने गरिएको छ।

प्रदेश तथा जिल्ला नेतृत्वमा केन्द्रीय पदाधिकारीसँगै केन्द्रीय तहका नेताहरू घनश्याम भुसाल, खिमलाल भट्टराई, नेत्र पन्थी, राधा ज्ञवाली, लिला गिरी, दधिराम न्यौपानेको समेत राम्रै प्रभाव पर्ने भएकोले जिल्ला नेतृत्वका आकांक्षीहरू कार्यकर्तालाई फकाउने भन्दा पनि केन्द्रीय नेताहरू रिझाउने दौडधुपमा लागेका छन्।

जिल्ला अध्यक्षका आकांक्षीहरू कोही नेताको घरमा भेटघाटमा व्यस्त छन् भने केही जिल्ला अधिवेशनका लागि आफ्नो पक्षका प्रतिनिधी छनोट गर्ने अभियानमा व्यस्त देखिन्छन्।

जिल्लाको नेतृत्वको लागि अरू जिल्लाभन्दा रूपन्देहीमा धेरै आकांक्षी देखिएका छन्।

अहिलेका अध्यक्ष शिवराज सुवेदी केन्द्रीय सदस्यमा निर्वाचित भए पनि उनी जिल्ला नेतृत्वबाट स्वतः बिदा हुने छन्।

सुवेदी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सुवेदीसँगै अध्यक्षका दाबेदार बनेका वर्तमान उपाध्यक्ष पुरूषोत्तम घिमिरेले अध्यक्षमा आफ्नो पालो भएको बताएका छन्।

उनले यसअघि सुवेदीलाई नेतृत्व छोडिसकेकोले अब भने कसैका लागि नेतृत्व नछोड्ने बताएका छन्।

जिल्ला अध्यक्षका लागि अहिलेका जिल्ला कार्यालय सदस्य तेजेन्द्र केसीले आफूलाई स्वभाविक दाबेदार बताउँदै आएका छन्।

‘पार्टी संकटमा पर्दा पाएको सहसंयोजकको जिम्मेवारी मैले राम्रोसँग निभाएको थिएँ, म अब स्वभाविक रूपमा अध्यक्षको दाबेदार हुँ,’ केसीले भने।

केसी एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपा रूपन्देहीको सहसंयोजक बनेका थिए।

केसीसँगै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, एमाले रूपन्देहीका उपसचिव गोपाल राना, यज्ञ गैरे, हितराज पन्थी र बलबहादुर आचार्य पनि अध्यक्षका आकांक्षी देखिएका छन्।

घिमिरेले पार्टीको १० औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रचार गरे पनि सहमतिका लागि पछाडि हटेकोले जिल्ला नेतृत्व आफूले पाउनुपर्ने बताएका छन्।

रानाले भने पार्टीलाई चलायमान बनाउन अब नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने भन्दै आफ्नो दाबी रहेको बताएका छन्।

अध्यक्षका आकांक्षी गैरे अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा छन् भने पन्थीले सिद्धार्थनगरमा पार्टीको काम गर्दै आएका छन्।

त्यस्तै, आचार्यले सुकुम्बासी आयोग रूपन्देहीको अध्यक्ष भएर काम गरिसकेका छन्।

अहिलेसम्म जिल्ला नेतृत्वको लागि सात जना आकांक्षी देखिए पनि अन्ततः केसी र गैरे कसलाई नेतृत्वले समर्थन गर्छ, उही अध्यक्ष बन्ने एमाले स्रोतले बतायो।

‘आकांक्षा त सबैले राख्न पाइयो, तर जिम्मेवारीमा लैजाँदा अहिलेसम्म अन्यत्र अवसर नपाएकोलाई दिनु न्यायसंगत हुन्छ, अरूको तुलनामा केसी र गैरेले अवसर पाएका छैनन्,’ स्रोतले भन्यो।

एकथरी भने पार्टी विभाजन पूर्व माधव नेपाल समूहमा रहेका घिमिरे एमालेमै रहेको र यसअघि पनि सहमतिका लागि उपाध्यक्षमा बस्न तयार भएकाले उनलाई अध्यक्ष दिनुपर्ने बताउँदै आएका छन्।

अघिल्लो अधिवेशनमै आफ्नो नेतृत्वमा अलग्गै प्यानल बनाएका घिमिरे पार्टी विभाजनका बेला पनि करिब २ वर्षदेखि मौन बसेका थिए।

विषयमा यसअघि माधव नेपाल समूहमा रहेका नेता कार्यकर्ता मात्र होइन केपी ओली समूहका कतिपय नेताहरूले पनि घिमिरेलाई अध्यक्ष बनाए न्याय हुने बताएका छन्।

‘हामी आफैं लडेर हुँदैन, यसअघि अर्को समूहमा रहे पनि पार्टी भित्रै रहेका साथीहरूलाई पनि समेट्नु पर्छ,’ ती नेताले भने।

घिमिरेलाई अध्यक्ष बनाउन विशेषगरी लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले लबिङ गरिरहेको एमाले निकट स्रोतले बताएको छ।

अर्घाखाँचीमा पनि जिल्ला अध्यक्षका लागि दुई जना दाबेदार देखिएका छन्।

प्रदेश सभा समेत रहेका वर्तमान अध्यक्ष चेतनारायण आचार्य केन्द्रीय सदस्य निर्वाचित भएपछि अध्यक्षमा हालका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला र एमाले प्रदेश सदस्य पीताम्बर भुसाल दाबेदार बनेका छन्।

त्यस्तै, पाल्पामा आधा दर्जन बढीले जिल्ला अध्यक्षमा आकांक्षा देखाएका छन्।

पाल्पामा पालिका अध्यक्ष, संविधान सभा सदस्य तथा केन्द्रीय लेखा आयोगका पूर्व सदस्य समेत दाबेदार बनेका छन्।

तिनाउ गाउँपालिकाका प्रमुख तथा हालका जिल्ला सचिव ओम बहादुर कार्की, रिव्दीकोट गाउँपालिकाका प्रमुख समेत रहेका नारायण बहादुर जी.सी, पूर्व केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका धनेन्द्रराज घिमिरे, संविधान सभा सदस्य तारामणि घिमिरे र जिल्लाका पूर्व पार्टी सचिव देवीप्रसाद बस्यालले समेत अध्यक्षका लागि दाबी गरेका छन्।

कपिलवस्तुमा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, डम्बर शर्मा र बाबुराम खनालले अध्यक्षका लागि केन्द्रीय नेतृत्वसामु लबिङ गरिरहेको स्रोतले बताएको छ।

यसैगरी पश्चिम नवलपरासीमा प्रदेश सभा सदस्य समेत रहेका दीपेन्द्र अधिकारी र हालका जिल्ला सचिव थामप्रसाद गैरेले आकांक्षा देखाएका छन्।

बाँकेमा भने पत्रकार समेत गरी आधा दर्जन बढीले आकांक्षा देखाएका छन्।

पत्रकार रहेका डिल्ली बि.सी, रत्न खत्री, किस्मती कक्षपति, निरक गुरूङ, घननाथ खनाल, सतिस निरौलाले अध्यक्ष बन्ने लाइनमा लबिङ गरिरहेका छन्।

यसैगरी बर्दियामा बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी र बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। श्रेष्ठ हालका जिल्ला अध्यक्ष हुन् भने अधिकारी उपाध्यक्ष हुन्।

प्युठान र रोल्पामा भने हालका जिल्ला अध्यक्ष नै दोहोरिने लगभग पक्का जस्तै भएको छ। रोल्पामा हालका अध्यक्ष बालराम बुढा नेतृत्वमा दोहोरिन चाहेका छन्।

दाङ र गुल्मीमा पनि एक/एक जनाको दाबी देखिएको छ। गुल्मीमा हालका अध्यक्ष मधुकृष्ण पन्थले छत्रकोट गाउँपालिकाका अध्यक्ष भएकाले पार्टी नेतृत्वमा नदोहोरिने बताएका छन्।

पन्थ नदोहोरिने भएपछि हालका उपाध्यक्ष बालसिंह काउछा एक मात्र अध्यक्षका दाबेदार देखिएका छन्।

त्यस्तै, दाङमा पनि टिकाराम खड्काले नदोहोरिने बताएका छन् भने हालका उपाध्यक्ष हुकुम बस्नेत अध्यक्षका दाबेदार देखिएका छन्।

Copy link
Powered by Social Snap