२०८३ कार्तिक १२

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ। 

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन्। आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन्।

पूर्वसञ्चारमन्त्री समेत रहेका सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे। 


Advertisement


‘हामी लोकतान्त्रिक अभ्यासमा छौं। यो हाम्रो प्रणाली मात्रै होईन जीवन पद्धति पनि हो। र हाम्रा परम्पराहरू, व्यवस्थाहरुको कारणले गर्दा पनि अरुलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसार भरी नै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ। यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहे। म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु–अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा। त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काइयोस् भन्ने कुरा चाहन्छु,’ उनले भने।

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाइप्रति ऐक्यबद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे। उनले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताए। 

सांसद गौतमले भने, ‘संसदीय अभ्यासमा संसद र सार्वजनिक लेखा समितिको भूमिका र यसले सम्पादन गर्नुपर्ने कार्य सम्पादनको क्षेत्रमा प्रमुख प्रतिपक्षको रोल सरकार भएपछि सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने यी दुईटा संस्थाहरुको नेतृत्व र अगुवाइको सन्दर्भमा सैद्धान्तिक अभ्यास र परम्पराको हिसावले नेकपा एमालेका तर्फबाट यी कुराहरु राखि राखेका छौं। त्यस हिसावले चाहे पारदर्शिताको, चाहे जवाफदेहीताको कुरा गर्नुहुन्छ भने सरकार एउटा अथोरिटी हो भने त्यसलाई संसद वा सार्वजनिक लेखा समितिको ठाउँबाट चेक एण्ड ब्यालेन्स गर्ने विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउनका निमित्त त्यसको अगुवाई र नेतृत्व प्रमुख प्रतिपक्षले गर्नुपर्छ भन्ने कुरा म यहाँ दर्ज गर्न चाहन्छु। दोस्रो कुरा प्रमुख प्रतिपक्षको रचनात्मक भूमिकाको माग भईरहेको बेलामा हाम्रा अभ्यास र परम्परालाई फलो गरेर जानु पर्दछ।’

यता, सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिए। उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ समेत दिए।

सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरूले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढ्ने धारणा समेत राखे। सभापति शाहले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास समेत व्यक्त गरे। 

उनले भने, ‘म २०५६ सालबाट छु–यहाँ। सायद राजीनामा गरेको मलाई थाहा छैन। मन्त्री भएपछि छोडेको तर राजीनामा गरेको थाहा छैन मलाई। तर सुन्दाखेरी सभापति विपक्षबाटै भएका छन्। यसबारे मलाई धेरै भन्नु छैन। यो विषयको उठान गर्नु विपक्षको धर्म हो। यसले प्रजातन्त्र सुदृढ हुन्छ। उहाँहरुलाई धन्यवाद दिन चाहन्छु।’

समितिका सभापति शाहले सो सम्बन्धमा संसदमा कुरा उठाउन पनि एमालेका सांसदद्वय बाँस्कोटा र गौतमलाई सुझाव दिए। उनले यस्ता विषयहरु कुरा उठाउन विपक्षहरुको धर्म भएको टिप्पणी समेत गरे।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap