२०८१ बैशाख १८

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै चार दलीय गठबन्धनले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको छ। 

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्य मन्त्री बनाउन माग गर्दै ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन्।


Advertisement


बुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। गठबन्धनलाई एक स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन्।

गठबन्धनका ४१ र एक सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसदले हस्ताक्षर गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयभित्रै गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।

मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् । सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। 

गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जना गरी ४१ जना सांसद रहेका छन् । त्यस्तै हृदयेश त्रिपाठी समूहका शाही समेत सहभागी भएपछि ४२ संख्या पुगेको छ।

शाहीले गठबन्धनलाई समर्थन गरेपछि एमालेमा ३७ जना सांसद छन्।  प्रदेश प्रमुख शेरेचनले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ गराउने तयारी रहेको छ।

Copy link
Powered by Social Snap