२०८१ बैशाख १४

तीन लाखबाट सुरू गरेका थिए, अहिले दर्जन बढी कम्पनीमा ४ अर्ब लगानी

व्यवसायमा सुरूमै ठूलो लगानी गर्ने पुँजी सबैसँग हुँदैन। भएको थोरै लगानीबाट थालेर पुँजी बढाउँदै लैजान सकिन्छ। यसैको उदाहरण हुन् हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा।

जम्मा तीन लाख रूपैयाँ लगानी गरी मोटरसाइकल रिकन्डिसन सेन्टरबाट उनले व्यवसाय सुरू गरेका थिए। अहिले दर्जन बढी कम्पनी सम्हालिरहेका छन्।

‘हिमालयन अर्गनाइजेसन छाता संस्था हो। यसभित्र घरजग्गा, होटल/हस्पिटालिटी, अटोमोबाइल्स, इञ्जिनियरिङ गरी १५ भन्दा बढी कम्पनी छन्,’ थापाले भने, ‘मेरो एकल लगानी मात्रै चार अर्ब रूपैयाँ नाघिसकेको छ।’

रिकन्डिसन सेन्टरबाट व्यापारिक समूहसम्म आइपुग्न थापाले थुप्रै अप्ठ्यारा पार गरे। सबै परिस्थितिसँग सामना गर्ने ऊर्जा भने सानै उमेरदेखि आफूमा भएको नयाँ सोचले दिएको बताउँछन् उनी।

पोखराका थापाले १७ वर्षको उमेरमै रिकन्डिसन सेन्टर सुरू गरेका हुन्।


Advertisement


उनी भर्खर एसएलसी सकेर प्रविणता तह पढ्दै थिए। त्यो बेला पोखरा बजारमा नयाँ मोटरसाइकलका केही सोरूम थिए। चलाइसकेका पुराना मोटरसाइकलको भने औपचारिक किनबेच हुन्थेन। यस्तो कारोबार चिनजानका व्यक्ति–व्यक्तिबीच हुन्थ्यो। त्यही बेला थापाका दाइले आफूले चलाइरहेको मोटरसाइकल बेचे। किनेकोभन्दा बढी दाम पाएकाले फाइदा भयो।

पुराना मोटरसाइकल बेच्ने आधिकारिक ठाउँ नभएको र फाइदा पनि हुने देखेपछि थापाले यसमै हात हाल्ने निधो गरे।

‘मैले अरूभन्दा फरक व्यवसाय गर्छु भनेर सोच बनाएको थिएँ,’ ५० वर्षीय थापाले सम्झिए, ‘दाइको मोटरसाइकल बेचेको अनुभवपछि अरू पनि किन्दै बेच्न थालेँ।’

यसको केही समयपछि उनले रिकन्डिसन सेन्टर नै खोलेर चलिसकेका मोटरसाइकलको संस्थागत बिक्री थाले। अनि २०४८ सालमा पोखरा नयाँ बजारमा ‘गण्डकी रिकन्डिसन सेन्टर’ खोले।

‘नेपालमा सबभन्दा पहिले दर्ता भएको रिकन्डिसन सेन्टर त्यही नै हो,’ उनले भने।

सुरूमा रिकन्डिसन सेन्टर सञ्चालन गर्दा उनले दुइटा मोटरसाइकल मात्रै राखेका थिए। त्यो बेला तीन लाख रूपैयाँ खर्च भएको थियो। खर्च जुटाउन बुबा र दाइले सहयोग गरे।

‘त्यतिबेला जापानी मोटरसाइकलको चलन बढी थियो। मैले होन्डा एक्सएल र होन्डा सिजी, दुई मोटरसाइकल राखेको थिएँ,’ उनले सम्झिए। 

कानुन विषयमा प्रविणता तह अध्ययनरत उनको कक्षा बिहान थियो। केही कक्षा छाडेर काममा जान्थे। बिहान दस बजे सेन्टरमा पुग्ने उनी सरसफाइदेखि बिक्री, हिसाबकिताब लगायत सबै काम एक्लै सम्हाल्थे।

थापालाई पहिले पनि पसल चलाएको धेरथोर अनुभव थियो। उनका बुबाको किराना पसलमा सघाएका थिए। यो अनुभवले उनलाई आफ्नै व्यवसाय चलाउन सहज भयो।

‘बुबा भारतीय सेना हुनुहुन्थ्यो। फर्किएपछि किराना पसल खोल्नुभएको थियो,’ थापाले भने, ‘स्कुल पढ्ने बेलामा बुबालाई सघाएकाले पनि धेरै कुरा सिकेको थिएँ।’

रिकन्डिसन सेन्टरको कारोबारबाट राम्रो आम्दानी भएपछि उनमा उत्साह थपियो। व्यवसाय विस्तार गर्ने योजना बनाए। तीन वर्षपछि सुजुकी मोटरसाइकलले पोखरामा डिलर राख्ने प्रस्ताव ल्यायो। उनले स्वीकारे। उनको व्यवसायले रिकन्डिसन सेन्टरसहित डिलरको पनि नाम पायो।

त्यसको केही समयपछि थापाले जापानी गाडी डाइहाट्सुको डिलर चलाए। अनि नेपाली गाडी हुलास मुस्ताङको पनि।

‘तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेपछि त्यो गाडी चर्चामा आयो। त्यसबेला तुरून्तै चाहियो भनेर माग आएको थियो। कम्पनीमा थिएन। मैले पोखराबाट काठमाडौं पठाएको थिएँ,’ उनले भने।

सात वर्ष चलाइसकेपछि भने उनले रिकन्डिसन सेन्टर छाडिदिए।

‘बजारमा त्यस्ता सेन्टर धेरै थपिए। प्रतिस्पर्धा बढ्दै जाँदा त्योभन्दा नयाँ व्यवसायलाई ध्यान दिएँ,’ उनले भने।

अटोमोबाइल्स क्षेत्रमा लगानी गर्दागर्दै बीचमा उनले घरजग्गा कारोबारतिर हात हाले। सुरूमा सानो प्लटिङमा लगानी गरे। 

‘१७ वर्ष अगाडिको कुरा हो। त्यो समयमा डेढ करोड जति लगानी गरेको थिएँ होला,’ ५० वर्षीय थापाले भने। 

घरजग्गा कारोबारबाट सबभन्दा राम्रो आम्दानी भयो। हाउजिङमा पनि लगानी गरेका थिए, सफल भएनन्। अनि जग्गा प्लटिङमै जोड दिए। जग्गाको आम्दानीले अटो क्षेत्रमा फड्को मार्न सहज बनायो।

रिकन्डिसन हुँदै डिलरसिपमा काम गरिरहेका उनले सन् २०१४ देखि गाडी आयातकर्ताका रूपमा काम थाले। आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत् फोर्स मोटर्स गाडीको नेपालका लागि आधिकारिक वितरक बने।

थापाले बैंकिङ क्षेत्रमा पनि लगानी गरेका छन्। उनले भने, ‘एनएमबी र मेघा बैंकमा मेरो पनि लगानी छ।’

यसबाहेक उनले लेकसाइडमा एउटा होटलमा लगानी गरेका थिए। तर खास राम्रो चलेन। अनि त्यो बेचेर अहिले उनी माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा चलाइरहेका छन्। त्यस्तै टुर्स एन्ड ट्राभल्स पनि उनले हात हालेको अर्को क्षेत्र हो।

उनी भन्छन्, ‘माउन्टेन ग्लोरी पोखराको राम्रो होटल मानिन्छ। राम्रो चलेको पनि थियो। अहिले भने कोरोनाले असर पुर्‍याएको छ।’

विभिन्न क्षेत्रमा काम गर्दै गएका थापाले शिक्षा क्षेत्रमा पनि लगानी गर्ने जमर्को गरेका थिए। तर काठमाडौंमा सुरू गरेको कलेज डुबेपछि उनले अगाडि जाने सोचेनन्। बरू अटोमोबाइल्ससँगै सर्भिसका निम्ति अटो इञ्जिनियरिङमा लगानी गरे।

थापाका अनुसार होटल र बैंकबाहेक घरजग्गा तथा अटो क्षेत्रमा उनको एकल लगानी छ। यी क्षेत्र उनले हिमालयन अर्गनाइजेसन समूहमार्फत् सम्हालिरहेका छन्। तत्काल नयाँ व्यवसायमा लगानीको योजना नबनाए पनि राम्रो अवसर मिले पछि नहट्ने उनले बताए।

कोभिडका कारण अटोमोबाइल्सबाहेक सबै व्यवसायमा धेरै असर परेको उनी बताउँछन्। तर काम गर्न अटोमोबाइल्स क्षेत्रमै सबभन्दा धेरै चुनौती छ।

‘हामी व्यवसायी जहाँ फाइदा देख्छौं, त्यहाँ लगानी गर्छौं। तर सरकारको नीतिले हाम्रो लगानी जोखिममा पर्छ,’ उनी राजनीतिक अवस्थाको गुनासो गर्छन्, ‘सरकार अस्थिर छ। आज एउटा नियम, भोलि फेरिइसकेको हुन्छ। यसले लगानी गर्ने वातावरण बन्दैन।’ 

वर्षैपिच्छे नियम फेरिँदा लगानी गर्न डराउनु पर्ने अवस्था भएको उनको भनाइ छ।

इलेक्ट्रिक भेहिकल कमिटीका सभापति समेत रहेका थापाले यसमै थपे, ‘युवराज खतिवडा अर्थमन्त्री हुँदा विद्युतीय गाडीको भन्सार दर बढाइयो। अनि विद्युतीय गाडी आउनै ठप्प भयो। संसारले प्रोत्साहन गरेर सहुलियत दिइराखेको चिजमा नेपालमा कर बढाइयो। अहिले नयाँ बजेटले केही राहत दिएको छ।’ 

भन्सार दर कम भएपछि व्यवसायी केही उत्साहित भएको उनले बताए। तर उनीहरूलाई फेरि नियम बदलिने हो कि भन्ने चिन्ता छ। त्यसैले ढुक्क भएर लगानी र व्यवसाय विस्तार गर्ने वातावरण नरहेको उनी बताउँछन्। विद्युतीयबाहेक पेट्रोल-डिजेल गाडीमा पनि कर धेरै भएकोमा उनको गुनासो छ। 

‘नेपालीको क्रय क्षमता कम भए पनि सबभन्दा बढी पैसा तिरेर गाडी चढिरहेका छौं। एउटा मोटरसाइकल चढ्न भारतीयलेभन्दा तीन गुणा चर्को तिर्नुपर्छ। हिजो पो सवारी विलासिताको साधन मानिन्थ्यो, अब त आधारभूत भइसक्यो। तर सरकारले बुझेको छैन। एक तिहाई कर सवारीबाटै उठाउँछ,’ उनले भने, ‘व्यवसायीलाई अरू केही सहयोग नगरे पनि राजनीतिक स्थिरतासम्म कायम गरिदिए हुने।

तीन दशकदेखि अटोमोबाइल्स व्यवसायलाई निरन्तरता दिएका थापा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष र अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व उपाध्यक्ष पनि हुन्। दुई कार्यकाल उपाध्यक्ष रहेका उनले नाडाको आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनीसँगै सिजी होल्डिङ्स र सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसके।

नाडामा लामो समय बिताए पनि आफ्ना सुझावहरू सुनुवाइ नभएकाले संस्थागत नेतृत्व लिनुपर्छ भन्ने सोचेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेको थापा बताउँछन्।

‘अध्यक्षका लागि पहिले पनि भिड्न मिल्थ्यो। तर सहमतिमा जाऊँ भनेर पहिले मैले साथीलाई बाटो खुला गरेँ। अहिले भने नाडामा मौलाएको सिन्डिकेट तोडौं भन्ने सोचले उम्मेदवारी दिएको हुँ,’ उनले भने। 

सानो पुँजीबाट संघर्ष गर्दै हालको अवस्थासम्म पुगेका उनी आफूले साना व्यवसायीको पिरमर्का बुझेकाले सबै साना व्यवसायीको समर्थन रहेको बताउँछन्। उनका अनुसार साना व्यवसायीका समस्या धेरै सुनिँदैन। ठूला व्यवसायीका मात्रै सुनिन्छ। यो साना र ठूला व्यवसायीबीचको दुरी मेट्ने उनको प्रतिबद्धता हो।

आफूले नेतृत्व पाए नाडामा हाल भइरहेको एकाधिकार तोड्न लागि पर्ने उनले बताए।

‘सिन्डिकेट हटाएर जोसुकै सक्षम अटोमोबाइल्स व्यवसायी नेतृत्वमा आउने व्यवस्था गर्नुछ,’ उनले भने। 

त्यस्तै नाडाको अध्यक्ष हुन कम्तीमा तीन कार्यकाल कार्यसमितिमा हुनुपर्ने व्यवस्था पनि मिलाउने उनको योजना छ। नाडालाई राष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्न देशभरका व्यवसायीलाई समेत नेतृत्वमा ल्याउने उनले बताए। संस्थाभित्रका गाडी आयातकर्ता र पाटपूर्जा व्यवसायीबीचको दुरी कम गर्न पहल गर्ने पनि उनको भनाइ छ।

थापाको अर्को उद्देश्य महिलाहरूलाई समेत नेतृत्वमा ल्याउने हो। उनका अनुसार अटोमोबाइल्स व्यवसायमा महिला संख्या धेरै छ। तर नेतृत्वमा ल्याउन सकिएको छैन।

‘म अध्यक्ष भइसकेपछि विधान नै बनाएर कार्यान्वयनमा ल्याउँछु,’ थापाले भने।

Copy link
Powered by Social Snap