२०८३ कार्तिक ३०

कांग्रेस महाधिवेशनको प्रक्रिया सुरू गर्न शेखर कोइरालाको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशनको प्रक्रिया सुरू गर्न माग गरेका छन्।

पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइराला बताउँछन्।

महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन कहिले गर्ने अझै टुंगो लगाउन कांग्रेसले सकेको छैन।


Advertisement


क्रियाशील सदस्यतामै विवाद देखिएका छन्। आज दिउँसो २ बजेसम्म क्रियाशील विवाद समाधान गर्न रमेश लेखक नेतृत्वको छानबिन समितिलाई समय दिइएको छ।

‘कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ,’ कोइरालाले आज ट्वीट गर्दै भनेका छन्।

उनले महाधिवेशन नभए पार्टीको वैधानिकता समाप्त हुनेसमेत बताएका छन्।

‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो? यसको जवाफ कसले दिने?’ उनको प्रश्न छ।

संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्ने उनले बताए।

‘अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन। लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशनसमेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने? तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ,’ उनले भनेका छन्।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि कोरोना र क्रियाशीलमा विवाद रहेको भन्दै उक्त महाधिवेशन पर धकेल्ने तयारी गरिरहेको छ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap