


अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ए डिभिजन लिग तोकिएकै मितिमा हुने बताएका छन्। उनले कोरोना भाइरसका कारण लिग नरोकिने बताए।
आगामी असोज ३ गतेदेखि सुरु गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिग गतिविधि रोक्न चार वटा क्लबले माग गरेपछि शेर्पाले प्रतिक्रिया दिएका हुन्।
Advertisement



‘यसअघि क्लबहरूसँग गरिएको बैठकमा खेलाडीलाई खोप लगाउने, प्रत्येक खेलअघि पिसिआर टेस्ट गर्ने, पोजेटिभ भए आइसोलेसन व्यवस्थान गर्ने सहमती भएको थियो। कोभिडको कारणले लिग रोक्ने सम्भावना छैन। घोषित मितिमा लिग गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन,’ शेर्पाले भने।
‘नेपाली फुटबल अघि बढाउन लिग निरन्तर संचालन गर्नुपर्छ। बिना दर्शक पनि लिग गराउनु पर्छ भनेर अगाडि बढिरहेका छौं।’
शेर्पाले लिग गतिविधिको विषयमा असन्तुष्टि जनाएका चार क्लबले पनि लिग खेल्ने विश्वास गरे। लिगको विषयमा थप छलफल गर्न आगामी आइतबार बैठक राखिएको पनि उनको भनाइ छ।

यसअघि थ्रीस्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले कोभिड-१९ का कारण लिगका गतिविधि सुचारू गर्न उपयुक्त नहुने दाबी गर्दै मंगलबार एन्फा अध्यक्षलाई सम्बोधन गर्दै पत्र दर्ता गराएका थिए।
आगामी असोज पहिलो सातादेखि लिग संचालन गर्नका लागि एन्फाले ए डिभिजन क्लबहरूलाई साउन १० सम्म टिम दर्ता गर्न भनेको छ।
सोहिअनुरुप क्लबहरूले खेलाडी भित्र्याएर टिम बनाउने क्रम जारी छ। तर साउन १० सम्म टिम बनाउने विषयमा चार क्लबको भने असन्तुष्टि छ।





