२०८१ जेष्ठ ४

जनमोर्चाले सांसदबाट निकालेपछि थापाले भने- गाउँ फर्किन्छु, खेती-किसानी गर्छु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपछि पार्टीबाट कारवाहीमा परेका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले अब गाउँ फर्केर खेती-किसानी गर्ने बताएका छन्।

आजै थापालाई जनमोर्चाले सांसदबाट हटाएको थियो। यसलगत्तै उनले कुराकानी गर्दै अब राजनीतिमा भन्दा खेती किसानीमै क्रियाशील रहने सोच बनाएको बताए।

‘अब गाउँ फर्कंन्छु। साधारण किसान भएर बस्छु, खेतीकिसानी गर्छु,’ थापाले भने। मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव ल्याउँदै नयाँ सरकार बनाउन लागेका नेपाली कांग्रेसलगायत दललाई थापाले साथ दिएका थिएनन्।

उनको पार्टी जनमोर्चाले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा समर्थन गरे पनि थापाले मुख्यमन्त्रीमा गुरूङलाई नै साथ रहने अडान राखिरहेका थिए।


Advertisement


पार्टी निर्णय नमानेपछि उनलाई जनमोर्चाले सांसदबाटै हटाइदिएको छ। ‘म अहिले पनि किसान नै हुँ। गाउँका पीडित जनताले मलाई खेती किसानीमै स्वीकार्छन् होला,’ उनले भने।

आफूलाई सांसदबाट निकाल्ने पार्टीको निर्णयलाई उनले इतिहासले त्यसबारे मूल्यांकन गर्ने प्रतिक्रिया दिएका छन्। कारवाही हुनु पर्दा भने उनको मन खिन्न छ।

‘कांग्रेसको सरकार बनाउन तयार नहुँदा मलाई आफ्नै पार्टीले कारवाही गर्‍यो। सांसदबाटै हटाइदियो, साह्रै नमजा भयो, यसलाई इतिहासले मूल्यांकन गर्नेछ,’ उनले भने।

सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चाले थापालाई पार्टी सदस्य हटाएको र राजनीतिक दल सम्बन्धी ऐनअनुसार संसद सदस्यबाट पनि हटाउन बिहीबार पत्राचार गरेको जानकारी दिए।

थापाले पार्टीले आफूलाई निकालेको विषयमा पछि पछुताउने बताएका छन्। ‘मलाई निकालेकोमा पार्टीलाई पछि आत्मग्लानी होला,’ उनले भने।

आफूलाई सांसद हटाएकोमा अदालत नजाने उनले बताए। कांग्रेसले गाउँका जनतालाई दु:ख दिएकोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूलाई मनैदेखि नलागेको उनको भनाइ छ। ‘हिजो गाउँका जनताको पेटमा कांग्रेसले छुरा रोपेको थियो। मैले कांग्रेसलाई जिताएर सरकारमा लैजान मलाई मनले नै दिएन,’ उनले भने।

यसअघि जनमोर्चाले थापालाई गत जेठ ८ मा पार्टी केन्द्रीय कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो। उनलाई एक वर्ष पार्टी राजनीतिक गर्न रोक लगाइएको थियो।

यदी पार्टीले कारवाही फुकुवा गरेमा भने आफू क्रियाशील राजनीति नै गर्ने पक्षमा रहेको उनी सुनाउँछन्। नभए समाजसेवा र खेती किसानी गर्ने उनको भनाइ छ।

तर अरू पार्टीमा नजाने उनले बताए। ‘जनमोर्चामै जीन्दगीभर लागेँ अरू पार्टीमा जान्न,’ उनले भने। कांग्रेसलाई समर्थन नगर्न आफूलाई गाउँदेखि नै दबाब आएको उनको भनाइ थियो।

उनले पार्टी अध्यक्ष चित्रबहादुर केसीले पनि सानो चित्त गरेको बताए। ‘हिजो चित्रबहादुर केसीले पनि गिरिजा भारततिर फिरिजा भनेको होइन र?’ उनले प्रश्न गर्दै भने, ‘उहाँको सानो सोचाइ छ।’

गत वैशाख ११ मा जनमोर्चाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो। तर नयाँ सरकार बनाउन हस्ताक्षर गर्ने निर्णय नगरिएको उनको दाबी छ।

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको बाबुराम भट्टराई पक्ष गरी २८ सांसदले हस्ताक्षर गरेका थिए। जनमोर्चाले भने हस्ताक्षर नगरेको दाबी उनको छ। गण्डकीमा जनमोर्चाका तीन जना सांसद थिए।

जनमोर्चाकै सांसद खिमविक्रम शाही पनि मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावमा भोट हाल्ने दिन प्रदेश सभामा अनुपस्थित रहेका थिए। पछि उनी अस्पताल भर्ना भएको सार्वजनिक भएको थियो।

‘अहिले शाहीजी त पार्टीले जे भन्छ त्यही मान्छु भन्दै हिँड्नुभएको छ,’ उनले भने। थापा बागलुङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट २०७४ सालमा भएको निर्वाचनबाट विजयी भएका थिए। उनलाई चुनावमा तत्कालीन नेकपाले समर्थन गरेको थियो।

Copy link
Powered by Social Snap