२०८१ जेष्ठ ६

नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको अन्तिम तीन खेल खेल्न अहिले नेपाली राष्ट्रिय फुटबल टिम कुवेतमा छ। 

कोरोना भाइरसका कारण एक वर्ष प्रभावित भएको छनोट चरणका खेल अहिले सेन्ट्रल भेन्यूमा हुन लागेको हो। एसियाली फुटबल महासंघले एक समूहका खेल एक भेन्यूमा मात्र गर्ने निर्णय गरेपछि नेपाल सम्मिलित समूह ‘बी’ का खेल कुवेतमा हुँदैछ। समूह ‘बी’ मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। 

कोरोनाले छनोटका खेल प्रभावित नभएको भए बाँकी तीन वटै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय थियो। सुरुमा आफ्नै कारणले घरेलु मैदानमा खेल्न नपाएको नेपालले अब कोरोनाका कारण विदेशी भूमीमा खेल्दैछ।

दशरथ रंगशालाको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा नेपालले सुरुवातका होम म्याचलाई पछि सारेको थियो। अझ कुवेतविरुद्धको होम म्याच त नेपालले भुटानमा खेल्नु परेको थियो।

जसका कारण नेपालले समूहका सुरुवाती पाँच खेल विदेशी भूमीमा खेल्यो। नेपालले पाँच मध्ये चार खेलमा हार बेहोर्‍यो।


Advertisement


पहिलो खेलमा कुवेतले नेपाललाई ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले ताइपेईलाई उसैको मैदानमा २-० गोलले पराजित गर्‍यो। 

क्यानबेरामा भएको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग ५-० को हार बेहोर्‍यो। त्यसपछि अम्बान पुगेको नेपाली टिमलाई जोर्डनले ३-० गोलले पराजित गर्‍यो। 

पाँचौ खेल नेपालले आफ्नो होम म्याच भुटानको थिम्पुमा खेलको थियो। सो खेलमा नेपालमाथि कुवेतले १-० को जित निकाल्यो। 

अन्तिम तीन खेलअघि नेपाल ३ अंक जोडेर समूहमा चौथो स्थानमा छ।

शीर्ष स्थानको अस्ट्रेलियाको ४ खेलबाट १२ अंक छ।

दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनले समान ५-५ खेल खेल्दै समान १०-१० अंक जोडेका छन्। पाँचौ स्थानको ताइपेईले अंक जोड्न सकेको छैन। 

अब नेपालले कुवेतमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ। ताइपेईसँग जेठ २० मा, जोर्डनसँग जेठ २४ मा र अस्ट्रेलियासँग जेठ २८ मा खेल हुनेछ। 

समूहको शीर्ष टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ भने एसियन कप २०२३ को एसियन कपमा छनोट हुनेछ।

दोस्रो हुने टिमको पनि विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा पुग्ने सम्भावना हुनेछ।

तेस्रो हुने टिम भने विश्वकप छनोटबाट बाहिरिनेछ। यद्यपी तेस्रो हुने एसियन कप छनोटको तेस्रो चरणमा पुग्नेछ। चौथो हुने टिमको पनि एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना हुनेछ। पाँचौ हुने टिमलाई प्लेअफ खेलेर एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने अवसर हुनेछ। 

अन्तिम तीन खेलअघि ३ अंक जोडेको नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना गणितीय मात्र बाँकी छ। त्यसैले नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको लक्ष्य नेपाललाई एसियन कपमा छनोट गराउनेछ। 

त्यसका लागि नेपालले कुवेतको वातावरणमा घुलमिल हुन इराकसँग उसैको मैत्रीपूर्ण खेल खेलेको थियो। गत शनिबार इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाली टिम ६-२ गोलले पराजित भयो। पराजय भोगे पनि इराकविरुद्धको खेलबाट सिक्ने अवसर प्राप्त भएको कुवेतका नागरिक प्रशिक्षक अलमुताइरीको भनाइ छ। 

त्यसो त दुई महिनाअघि नेपाली टिमको प्रशिक्षक नियुक्त भए लगत्तै अलमुताइरीले नेपाली टिमलाई एसियन कपमा छनोट गराउने आफ्नो पहिलो लक्ष्य भएको बताएका थिए। त्यसका लागि खाडीमा कम्तिमा दुई साता अभ्यास गर्ने उनको भनाइ थियो। सोही अनुरुप नेपाली टिम अघिल्लो साता इराक पुगेको थियो। 

विश्वकप छनोटबाट लगभग बाहिरिसकेको अवस्थामा नेपालले अब चौथो स्थानमै उत्कृष्ट नतिजा निकाल्नु पर्ने अलमुताइरको भनाइ छ।

ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्धका खेलबाट नेपालले अंक लिनका लागि खेल्ने उनको भनाइ छ।

नेपालको एसियन कप २०२३ मा सिधैं छनोट हुने सम्भावना कठिन छ।

अब नेपालले तेस्रो चरणको छनोटबाट एसियन कपमा स्थान बनाउन सक्नेछ। 

नेपालका लागि समूहमा चौथो भएर पनि एसियन कपको तेस्रो चरणमा पुग्न सकिने अवस्था छ।

आठ समूहमा चौथो हुने उत्कृष्ट चार टिम भित्र पर्नका लागि नेपालले अब कम्तिमा एक खेलमा जित हात पार्नुपर्नेछ। तीन टिम मध्ये नेपालले आफ्नै स्तरको ताइपेईविरुद्ध तीन अंकका लागि खेल्नु पर्नेछ।

अहिलेको समिकरणमा नेपाल समूहका उत्कृष्ट चौथो टिममध्ये अन्तिम स्थानमा छ। आठ समूहका उत्कृष्ट चार टिममा युएई, म्यानमार, भारत र यमन छन्। त्यसपछि हङकङ पाँचौं, माल्दिभ्स छैटौं, श्रीलंका सातौं र नेपाल आठौं स्थानमा छन्।

कसैगरी चौथो हुने मध्ये उत्कृष्ट चार टिममा पर्न नसके नेपालले प्लेअफ खेलेर एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन सक्नेछ।

प्लेअफ १२ टिमबीच हुनेछ। वरीयताका आधारमा हुने प्लेअफबाट ८ टिम तेस्रो एसिया कपको तेस्रो चरणमा पुग्नेछन्। 

२४ टिमबीच हुने तेस्रो चरणमा ४-४ टिम सम्मिलित ६ समूहमा प्रतिस्पर्धा हुनेछ। समूहका उत्कृष्ट २-२ टिम गरी १२ टिम तेस्रो चरणको छनोटबाट एसियन कप २०२३ का लागि छनोट हुनेछन्। 

नेपालले सन् २०२३ मा चीनमा हुने एसियन कपमा स्थान बनाउन सुरूमा तेस्रो चरणमा स्थान बनाउनु पर्नेछ। तेस्रो चरणमा पुगेको अवस्थामा समूहमा शीर्ष दुईमा परेमा नेपाल पहिलो पटक एसियन कपमा छनोट हुनेछ।

एएफसी एसिया कप २०२३ चीन 
सहभागी हुने टिम : २४

छनोट प्रक्रियाबाट : २४ टिम छानिने
दोस्रो चरणको छनोटबाट : १२ टिम (आठ समूहका शीर्ष ८ टिम र दोस्रो हुने उत्कृष्ट ४ टिम)
तेस्रो चरणको छनोटबाट : १२ टिम (६ समूहका शीर्ष २-२ टिम गरी १२ टिम)

तेस्रो चरण : २४ टिम 
दोस्रो चरणको छनोटमा समूहमा दोस्रो हुने : ४ टिम
दोस्रो चरणको छनोटमा समूहमा तेस्रो हुने : ८ टिम 
दोस्रो चरणको छनोटमा समूहमा चौथो हुने उत्कृष्ट : ४ टिम 
प्लेअफबाट राउन्डमा छनोट हुने : ८ टिम

प्लेअफ राउन्ड : १२ टिम 
दोस्रो चरणको छनोटमा समूहमा चौथो हुने उत्कृष्ट बाहेकका : ४ टिम 
दोस्रो चरण समूहमा पाँचौ हुने : ८ टिम  
(प्लेअफका लागि वरीयता निर्धारण गरिनेछ। जसमा पहिलो राउन्डबाट ६ टिम र दोस्रो राउन्डबाट २ टिम गरी ८ टिम तेस्रो चरणको छनोटमा पुग्नेछन्।)

Copy link
Powered by Social Snap