२०७८ असार ८
Advertisement

.

Advertisement

पोहोरको लकडाउनले सिकायो, यसपालि घाटाबाट जोगिए

गतवर्ष कोरोनाभाइरसको महामारीसँगै सुरू भएको लकडाउनले देश नै ठप्प बन्यो। त्यतिखेर किसानले लगाएका तरकारी बारीमै कुहिएर खेर गएका थिए। ठूलो खर्च गरेर लगाइएको तरकारी खेर जाँदा धेरै किसान निरास भए।

त्यो लकडाउनबाट पाठ सिक्दै अघि बढेका किसान यसपाली भने निषेधाज्ञामा घाटा हुनबाट जोगिएका छन्। चितवनको शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दै आएका युवाहरू लकडाउनबाटै पाठ सिकेर सामूहिक खेतीतर्फ अग्रसर भएका थिए।

सामूहिक खेती गर्दा घाटा कम भएको अनुभव उनीहरूलाई भएको छ।


Advertisement


‘एक्लाएक्लै खेती गर्दा ठाउँमा कुरा पुर्‍याउन नसक्ने, बिचौलियाले पेल्ने, मूल्य नपाउने समस्या थियो। त्यसमाथि लकडाउन हुँदा तरकारी बारीमै कुहिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो,’ तरकारी किसान लेखनाथ भुषालले  भने, ‘समूहमा खेती गर्न थालेपछि यी समस्याहरू हट्दै गए।’

शुक्रनगरमा गत वर्षको लकडाउनपछि भुषालको नेतृत्वमा एक दर्जन युवाहरू मिलेर सामूहिक खेती गर्ने निर्णय गरेका थिए। युवा आधुनिक सामूहिक खेती नामको संस्था तयार पारेर उनीहरूले प्रविधिको प्रयोग गर्दै कृषिमा सुधार ल्याउने संकल्प गरे।

उनीहरूले करिब एक सय विघा जमिन तयार पारेर तरकारी अनुसारका १८ वटा छुट्टाछुट्टै ब्लक तयार पारे। अहिले ती ब्लकमा टमाटर, बोडी, लौका, करेला, काँक्रो, घिरौंला, चिचिण्डा, खुर्सानीलगायतका तरकारी लगाइएका छन्।

‘यसपालि निषेधाज्ञाको सुरूआतमा करेला र काँक्रोमा घाटा लागे पनि अन्य तरकारीबाट घाटा हुन पाएन,’ भुषालले भने, ‘विभिन्न ठाउँमा सम्पर्क गरी तरकारी बिक्री गर्‍यौं।’

उनका अनुसार पहिले एक्लैले खेती गर्दा धेरै किसिमका तरकारी धेरै परिणाममा लगाउन पाइन्नथ्यो। थोरै तरकारी भएको भन्दै काठमाडौं, पोखराबाट व्यवसायीले गाडी पठाउन मान्दैनथे। अनि बिचौलियाको भर पर्नुपर्थ्यो। अहिले एकै ठाउँमा धेरै किसिमका तरकारी त्यो पनि चाहिने जति लैजान पाइने भएकाले व्यवासायीहरू आउँछन्।

उनीहरूलाई सम्पर्क गरेर बोलाउन पनि सजिलो भएको उनले बताए। बिचौलियालाई अतिरिक्त पैसा तिर्न नपर्ने र बारीबाटै तरकारी लैजान पाइने भएकाले पनि टाढाटाढाका तरकारी व्यवसायी आउँछन्। अनि तरकारी धेरै खेर जान पाउँदैन। बिक्री हुन्छ।

उनले एक्लै हुँदा नटेर्ने, हेप्ने बिचौलिया किसानहरू एकजुट हुँदा कमजोर बनेको बताए।

‘हामी एकजुट भएर सामूहिक निर्णय गर्दा तरकारीले राम्रो मूल्य पनि पाइरहेको छ,’ संस्थाका सचिव सुमन सुवेदीले भने, ‘पोहोर जसरी बिक्री नहुने, कुहिएर जाने अवस्था असाध्यै कम छ।’

यसपाली निषेधाज्ञा सुरू हुँदै गर्दा खेतमा करेला, काँक्रा लटरम्मै फलेका थिए। राम्रो मूल्यमा बजार जान तयार भएका ती तरकारीको मूल्य अस्वभाविक रूपमा घट्न पुगेको थियो।

‘करेलाको मूल्य प्रतिकेजी ५ रुपैयाँ पनि नआउने अवस्था आयो, खर्च पनि नउठ्ने भएपछि टिपेर फाल्यौं,’ भुषालले भने, ‘तर केही दिनमा मूल्यमा सुधार आइहाल्यो। नाफा लिन नसके पनि घाटा हुन पाएन।’

करेला किसानले प्रतिकेजी ७० रुपैयाँसम्म बिक्री गर्ने गरेका थिए। अहिले प्रतिकेजी १५ रुपैयाँमा बिक्री भइरहेको छ।

लटरम्म फलेको काँक्रो बिक्री नै नभएपछि किसानले झ्याल (बोट) काटिदिएका थिए।

‘बिक्री नभएपछि त्यसले मल नसोसोस् भनेर झ्याल नै काटेर अन्य बाली लगाउने निर्णय गरिहाल्यौं,’ भुषालले भने, ‘बेलैमा निर्णय नगरेको भए झन् घाटा हुन्थ्यो।’

निषेधाज्ञामा टमाटरको मूल्यमा पनि उतारचढाव आएको थियो। प्रतिकेजी दुई रुपैयाँ मूल्य नपाउँदा केही दिन पाकेको टमाटर टिपेर फाल्नुपर्ने अवस्था पनि आयो।

सामूहिक खेतीको एक सयमध्ये ४० विघामा टमाटरमात्रै लगाइएको थियो। कहिले ह्वात्तै घट्ने, कहिले केही बढ्ने अवस्था रहे पनि समूहमा आवद्ध सबैको प्रयासमा घाटा लाग्नबाट बचेको उनले सुनाए। अहिले प्रतिकेजी ३० रुपैयाँसम्ममा टमाटर बिक्री भइरहेको छ।

भुषालले अहिले ५ विघा जमिनमा व्यक्तिगत र ५ विघा समूहमा राखेर तरकारी खेती गर्दै आएका छन्। उनले व्यक्तिगत रूपमा लगाएको तरकारीबाट घाटा भएको बताए। बारीमा लगाएको टमाटर र काँक्रो बिक्री नहुँदा उनी घाटामा परे। तर सामूहिक खेतीले भने उनलाई निरास हुन दिएन।

‘समूहमा खेती गर्दा लागत कम हुने र मूल्य पनि त्यहीअनुसार हुने भएकाले बजार पठाउन सहज हुने रहेछ,’ उनले भने, ‘व्यक्तिगत रूपमा लगाइएको तरकारीको मूल्य नआउँदासम्म बेच्ने नसकिने र कुर्दाकुर्दै बिग्रिएर जाने समस्या आउने रहेछ।’

अहिले पनि सोही क्षेत्रमा सामूहिक खेतीभन्दा बाहिर रहेका किसानको उत्पादन सहज रूपमा बिक्री हुन सकिरहेको छैन। निषेधाज्ञा र लगातारको वर्षाले किसानले लगाएका खरभुजा, क्याप्सिकम, भेडे खुर्सानीलगायतका तरकारी बिक्री नभएर बिग्रिएका छन्।

अहिले सामूहिक खेती भइरहेको जमिनमा यतिखेर बोडी, लौका, करेला, चिचिण्डा, खुर्सानी फलिरहेका छन्। लौका र बोडी त बजारको मागअनुसार पुर्‍याउनै हम्मे भइरहेको छ। बाँकी रहेका करेला, टमाटरहरू पनि अहिले बिक्री भइरहेका छन्।

सचिव सुवेदीकाअनुसार गत वर्षको कोरोना महामारीमा ६० प्रतिशत तरकारी बिक्री भएको थिएन। यस पटक भने ७० प्रतिशतभन्दा बढी तरकारी बिक्री भएको उनले बताए।

‘सबै त यसपालि पनि बिक्री गर्न सकिएन। तरकारीको खपत बढी हुने होटल, रेष्टुरेन्ट बन्द हुँदा सबै बिक्री गर्न सकिएन,’ उनले भने, ‘समूहमा खेती गर्दा यस्तो अवस्थामा पनि सन्तोषै मान्न पर्ने कारोबार छ।’

उनले समूहमा खेती गर्दा किसानका बीचमा आत्मियता बढेको र मिलेर लड्ने साहस पैदा भएको बताए।

‘राज्यले हेर्ने दृष्टिकोणमा पनि फरक आउने रहेछ, मल, बीउ, प्रविधिमा अनुदान लिन पनि सहज हुने रहेछ,’ उनले भने, ‘प्रविधिमैत्री बन्दा सबैलाई फाइदा भयो। यसले काम गर्ने उर्जा पनि थपिएको छ।’

व्यक्तिगत र सामूहिकमा ५/५ विघा जमिनमा तरकारी खेती गर्दै आएका सुवेदीले आगामी वर्ष थप प्रविधिको प्रयोग गर्दै थोरै जमिन र लागतमा धेरै उत्पादन गर्ने लक्ष्य राखिएको बताए।

‘यस्ता महामारी, विपत्ति आउँदा पनि घाटा नलागोस् भनेर हामी मेहनत गरिरहेका छौं,’ उनले भने, ‘राज्यका निकायले पनि किसानले गरेको प्रयासमा सहयोग गरिदियो भने थप उर्जा मिल्नेथियो।’

Copy link