२०८१ जेष्ठ ६

इराकसँग पराजित भएपछि नेपालका प्रशिक्षकले भने- प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टिम इराकसँग फराकिलो अन्तरले पराजित भयो।

इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल पूर्व एसियन च्याम्पियन इराकसँग ६–२ गोलअन्तरले पराजित भएपछि नेपालका प्रशिक्षकले राम्रो नतिजाका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन्।


Advertisement


प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हारे पनि नेपाली टिमका लागि सकारात्मक पक्ष रहेको बताए। 

‘म हारको लागि जिम्मेवारी लिन्छु। मलाई लाग्छ यो टिमलाई अब समय र धैर्यता चाहिन्छ,’ उनले भने, ‘हामीले दुई गोल गर्‍यौं। खेलमा ३-१ को अग्रता लिने अवसरको नजिक थियौं। तर यो फुटबल हो र कहिलेकाँही तपाईँले बल गुमाउनुहुन्छ भने सबै कुरा परिवर्तन हुन्छ।’

नेपाली टिमको खेल सुधार गर्न खेलाडीहरूलाई थप समय र विश्वास चाहिने उनको भनाइ छ। 

‘बस् अब प्रतिक्षा गर्नुहोस्। उनीहरूलाई समय र धैर्यता चाहिन्छ। प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ,’ उनले भने।

फिफा वरीयतामा १०३ स्थान माथि रहेको इराकविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल खाएको थियो। 

खेलमा इराकले सुरुआती अग्रता लिएको थियो। इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गरे। खासिनले प्रहार गरेको फ्रिकिकलाई नेपाली गोलरक्षक किरणकुमार लिम्बुले जोगाउने कुनै मौका पाएनन्।

खेलको आठौँ मिनेटमा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गर्दा खेल १–१ गोलको बराबरीको अवस्थामा पुगेको थियो। नेपालका अन्जन विष्टको प्रहार रोक्ने क्रममा इब्राहिमले आफ्नै पोस्टमा गोल गरेका थिए।

खेलको ३०औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरे। उनले आफ्नो डेब्यू खेलमा उत्कृष्ट गोल गर्दै नेपाललाई २–१ गोलको अग्रता दिलाए। 

पहिलो हाफको अन्तिम समयमा इराकी खेलाडीले थप तीन गोल गर्दै नेपाली फुटबल प्रेमीलाई निराश पारे। खेलको ३९औँ मिनेटमा इराकी खेलाडी मोहम्मद अब्दुल जारा ओबेदले दोस्रो गोल गरे। त्यसपछि इराकी खेलाडी अयमन हुसेनले पाँच मिनेट भित्रमा दुई गोल गर्दा खेल ४–२ को अवस्थामा पुग्यो। 

खेलको ६७औँ मिनेटमा इराकका लागि मोहनाद अली अल्सामरीले गोल गर्दै ५–२ को अवस्थामा पुर्‍याए। यस्तै खेलको ७५औँ मिनेटमा सज्जाद जासिमले गोल गर्दै इराकलाई ६–२ गोलअन्तरले विजयी गराए। 

नेपालले इराकसित दुई दशकपछि खेल खेलेको हो। यसअघि नेपालले इराकसित सन् २००१ मा खेलेको थियो। 

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्न आज आइतबार कुवेत जाने छ। 

छनोटमा समूह ‘बी’मा रहेको नेपालले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ। 

विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ।

Copy link
Powered by Social Snap