२०८१ बैशाख ७

घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्-असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ

नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ। हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा संक्रमण देखियो।

अघिल्लो सातासम्म  परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई संक्रमण देखिने गरेको थियो। गत वैशाख २७ गते १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भयो। अर्थात ५०.३५ प्रतिशत मानिसमा संक्रमण देखियो। जुन हालसम्मकै सर्वाधिक संक्रमण दर हो।

वैशाख दोस्रो सातादेखि बढ्न थालेको संक्रमण दर महिनाको अन्तिमसम्म आइपुग्दा संक्रमणको स्थिति निकै नै भयावह भयो। उक्त अवधिभर अस्पताल संक्रमितले खचाखच भरिए। अक्सिजनको चरम अभावका कारण कतिले भर्ना पाएनन् र केहीले बाटोमै ज्यान गुमाए। अहिले पनि धेरै अस्पतालमा संक्रमितको चाप उस्तै छ।

तर पछिल्लो सातादेखि भने अस्पतालहरूमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपर्ने स्थिति छैन। केही समयअघिसम्म टेकु, टिचिङ अस्पतालले बेड नभएपछि संक्रमितलाई भुइँमै राखेर उपचार गरेका थिए। अहिले भने संक्रमितलाई भुइँमै राखेर उपचार गर्नु नपरेको ती अस्पतालले जनाएका छन्।


Advertisement


पछिल्लो सातादेखि संक्रमण निरन्तर घटेका कारण अस्पतालमा पनि बिरामीको चाप केही कम भएको हो। मन्त्रालयको तथ्यांकअनुसार गत जेठ ९ गतेदेखि संक्रमण दर क्रमशः घट्दै गएको देखिन्छ। जेठ ९ गते १९ हजार ९२६ जनाको परीक्षण गरिएकोमा ७ हजार ९१४ जनमा संक्रमण पुष्टि भयो। अर्थात् ३९.७१ प्रतिशत मानिसमा संक्रमण देखियो।

त्यस्तै जेठ १० गते ३६.३० प्रतिशत मानिसमा संक्रमण देखिँदा हिजो शनिबारसम्म आइपुग्दा संक्रमण दर ३०.४१ प्रतिशतमा झरेको हो। जेठ ९ गतेअघि संक्रमण दर ४० प्रतिशतभन्दा बढी थियो।

विज्ञहरूले संक्रमण दर घटिरहेकाले लकडाउनलाई विस्तारै खुकुलो पार्दै लैजान सकिने सुझाएका छन्। भाइरोलोजिष्ट तथा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘संक्रमण घट्दै गए पनि निषेधाज्ञालाई जेठभरि चाहिँ खोल्नु हुँदैन। असारदेखि भने बिस्तारै खुकुलो पार्दै लान सकिन्छ।’

उनले संक्रमण दर बिस्तारै घट्दै गएकाले अन्य आवश्यक कदम कार्यान्वयन गरी निषेधाज्ञालाई बिस्तारै खुकुलो पार्न सकिने बताए। भाइरोलोजिष्ट पाण्डेका अनुसार निषेधाज्ञाले संक्रमणको ‘चेन ब्रेक’ गराउन ठूलो मद्दत पुग्ने भए पनि त्यसका लागि अन्य विधि पनि रहेको जनाए।

‘लकडाउन गर्ने भनेकै संक्रमणको ‘चेन ब्रेक’ गर्ने हो तर त्यसका लागि अरू पनि उपाय छन्। जस्तै खोपलाई जोड दिनुपर्‍यो,’ उनले भने, ‘लकडाउन मात्र गरिरहने हो भने मानिस भोकले मर्छन्। अस्ति एकजना मान्छेले मसँग चिउरा खानलाई भन्दै रुँदै बीस रुपैयाँ माग्नुभयो। त्यसैले योबारे पनि सोच्नुपर्छ।’

उनले पछिल्लो समय संक्रमण दर घट्दै गएकाले पनि यसलाई नियन्त्रण गरेर लकडाउन खुकुलो पार्दै लान सकिने जनाए। तर लकडाउन खुकुलो पारे पनि अस्पतालहरूलाई त्यो बेलासम्म सशक्त बनाएर राख्नुपर्ने उनी बताउँछन्। किनभने संक्रमण घटे पनि तत्काल मृत्युदर नघट्ने भएकाले अहिले संक्रमण देखिएका व्यक्तिलाई दुई सातासम्म पनि सिकिस्त बनाउन सक्ने पाण्डेले बताए।

कतिपयले भने परीक्षण नै कम भएकाले पनि संक्रमणमा कमी देखिएको तर्क गरेका छन्। कम परीक्षण भए पनि संक्रमण दर पनि कम हुँदै गएकाले संक्रमण घटेकै मान्नु पर्ने पाण्डे बताउँछन्।

 ‘परीक्षण कम भएको छ तर संक्रमण दर पनि हामीले विचार गर्नुपर्छ। जस्तै सय जनाको परीक्षण गर्दा कति जनामा पोजेटिभ देखियो भन्ने कुरा ख्याल गर्नुपर्छ। त्यसले गर्दा पछिल्लो तथ्यांक हेर्दा संक्रमण घटेकै भनेर मान्नुपर्छ,’ उनले भने।

नेपालमा संक्रमण घट्नुका एउटा कारण भारतमा पनि बिस्तारै संक्रमण घट्दै जानु भएको उनी बताउँछन्। पाण्डे भन्छन्, ‘भारतमा पनि केस घटिरहेकाले नेपालमा पनि संक्रमण स्वत: कम भएको हो। अघिल्लो लहरमा पनि त्यस्तै नै भएको थियो।’

एक महिनादेखि जारी गरिएको लकडाउनले पनि संक्रमणको ‘चेन ब्रेक’ गराउन ठूलो मद्दत पुगेको उनी बताउँछन्। लकडाउनका कारण मानिसहरूको आवतजावत कम भएको भन्दै यसले संक्रमण धेरै फैलिन नपाएको उनको बुझाइ छ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि अहिले संक्रमणको दर जसरी घटिरहेको छ अब संक्रमण योभन्दा बढ्ने नदेखिएको बताउँछन्।

‘जसरी संक्रमण दर घटिरहेको छ यसलाई राम्रै मान्नुपर्छ। यसले हामी राम्रो अवस्थातिर गइरहेको भन्ने पनि संकेत गर्छ। अब संक्रमण योभन्दा बढ्ने वाला छैन,’ उनले भने।

उनले पनि संक्रमण यसरी नै घट्दै गए लकडाउनलाई खुकुलो पार्दै लान सकिने सुझाएका छन्। तर लकडाउनलाई खुकुलो पार्दा सबै ठाउँ एकैपटक नभएर संक्रमणको अवस्था हेरी ठाउँठाउँमा खुकुलो पार्दै लानु पर्ने डा. पुनको जोड छ। उनले अहिले अस्पतालमा पहिले जस्तो चाप नरहेको पनि बताए।

‘पहिलेजस्तो चाप छैन। बेड पनि भरिभराउ भएको स्थिति छैन। पहिले जस्तो बिरामीलाई बाहिरै राखेर उपचार गर्नु परेको छैन,’ टेकु अस्पतालमा कार्यरत डाक्टर पुन भन्छन्, ‘पहिले दैनिक ४० देखि ५० जना मानिस कोरोनाको बारे बुझ्न आउँथे भने अहिले त्यसमा आधा कम भएको छ।’

कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि स्थानीय प्रशासनहरूले वैशाख दोस्रो सातादेखि विभिन्न जिल्लामा निषेधाज्ञा लगाएका थिए। जुन अहिले पनि जारी छ।

Copy link
Powered by Social Snap