२०८१ बैशाख १४

विश्वभरका नेपाली एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा

विश्वभर छरिएका नेपालीलाई यही मे २९ तारिक नेपाली समय अनुसार दिउँसो ४ बजे एकै साथ अनलाइनमा जुममार्फत मःमः खादै विश्व कीर्तिमान कायम गर्नुका साथै परोपकारी कार्यमा जुट्न आब्हान गरिएको छ।

सिड्नीबाट सञ्चालिन हुँदै आएको ‘द दिपेश शो’ कार्यक्रमका परिकल्पनाकार तथा प्रस्तोता दिपेश श्रेष्ठका अनुसार विश्वभरका नेपाली एकै साथ जुममार्फत मःमः खाँदै विश्व रेकर्ड राख्ने कार्यक्रमको मनसाय हो।

यो कार्यक्रममार्फत हालसम्म नेपालका कोभिड विरामीका लागि करीब १० लाख रूपैयाभन्दा बढी रकम संकलन भइसकेको छ भने सहयोग उठ्ने क्रम जारी छ। यस वाट उठेको रकम क्याप्टेन बिजय लामाको न्यानोपन नामक परोपकारी संस्थालाई सहयोग जाने छ।


Advertisement


उक्त जुममार्फत अनलाइनमा मःमः खाने कार्यक्रमका लागि इच्छुक व्यक्तिले निःशुल्क रूपमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

एकैसाथ भर्चुअल रूपमा खाना खाने कीर्तिमान सुरू भएयता एकै पटक एक सय २५ जनाले फीस एन्ड चिप्स खाएर विश्व रेकर्ड राखेका थिए। यस पटक ३५ मुलुकका १५ सय मानिसलाई एकै पटक मःमः खुवाएर कीर्तिमान कायन गर्ने लक्ष्य बोकेको दिपेश सुनाउँछन्। 

‘कोभिडको यस्तो महामारीमा घरमै बसेर, सामजिक दुरी कायम गर्दै जूममा अनलाइन आएर मःमः खादा यदि कोभिड बिमारीको लागि सहयोग उठ्छ भने किन नगर्ने?  यदि घरमै बसी रहनु भएको व्यक्तिले भावानात्मक रुपमा केहि गरेको अनुभूति हुने र मानसिक रुपमा केहि भए पनि सकारात्मक सहयोग हुनसक्छ भन्ने सोचका साथ यो अभियान थालनी गरेको हो’, दिपेशले भने।

त्यस्तै मःमः बनाउँदा जसरी परिवारका सदस्यहरू एकै ठाउँमा आएर बनाउने गर्छौ, त्यसरी नै यो अभियानले संसार भरिका नेपालीलाई एकै ठाउँमा ल्याउने र सहयोगी भावनाले पनि काम गर्ने हुँदा यस्तो कीर्तिमानी कामलाई अगाडि बढाइएको उनले बताए।

‘कोभिड माहामारीले जीवनलाई अती नै दयनीय असर पारेको बेला हामी सबैलाई सहयोगको खाँचो छ। खासगरी नेपालमा यो कार्यक्रम मार्फत उठेको रकम संकलन भएको छ। सो रकमलाई कोभिड राहतको लागि परिचालन गरिनेछ’, उनले भने, ‘ज्योति गुमेका, गर्भवती र अन्य कोभिडले मर्माहित ब्यक्तिको लागि सानो रकमले पनि ठूलो सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं’, दिपेशले जानकारी दिए।

दिपेशको यस कार्यलाई सिड्नीको एभरेष्ट मःमःका सन्तोष अधिकारी र प्रमोद रिमालले साथ दिएका छन्।

आशिष आचार्य र रहिन्द्र श्रेष्ठले प्राविधिक रुपमा सहयोग गरीरहेको दिपेशले बताए।

Copy link
Powered by Social Snap