२०८१ बैशाख २१

कोरोनाविरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । नेकपा एमालेका महासचिवसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओसँग खोप सहयोगका लागि आग्रह गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज आयोजित भिडियो बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।


Advertisement


‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उनले भने– दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’ खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालले अपिल गरेको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले नेपाललाई ८ लाख डोज खोप सहयोग गरेकोमा चीनलाई धन्यवाद पनि दिए । उनले कोरोना महामारी लगत्तै नेपाल लगायत विश्वका विभिन्न देशमा चीनले खेलेको भूमिका संसारकै लागि अनुकरणीय रहेको भन्दै प्रशंसा पनि गरे । कोरोनाविरुद्वको सामूहिक र दृढतापूर्वक लडाईंले मात्र महामारी नियन्त्रण सम्भव रहेको उपप्रधानमन्त्री पोखरेलको विश्वास छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap