२०८१ जेष्ठ ४

भाइरोलोजिष्ट पाण्डे भन्छन्- मान्छे मरिसकेपछि नयाँ भेरियन्ट पत्ता लाग्यो भनेर स्वास्थ्य मन्त्रालयले मान्छेलाई मूर्ख बनायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको थप दुइटा नयाँ प्रकार (भेरियन्ट) पत्ता लागेको जानकारी गरायो। 

देशका विभिन्न भागबाट ३५ वटा नमूनाको भारतमा जिन सिक्वेन्सिङ गर्दा ३४ जनामा बी.१.६.१७.२ र तीन प्रतिशतमा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। योसँगै नेपालमा भारतीय भेरियन्ट भेटिएको आधिकारिक पुष्टि भयो। 

मन्त्रालयको उक्त विज्ञप्तिपछि सामाजिक सञ्जालमा तरंग फैलियो। धेरैको यो भेरियन्ट कस्तो हो, हिजोआजै फेला परेको हो कि के हो भन्ने खालका जिज्ञासा थियो। 

भाइरोलोजिष्ट डा. वासुदेव पाण्डे भने मन्त्रालयले पत्ता लागेको भनिएको नयाँ प्रकार (भेरियन्ट) झन्डै दुई महिना अगाडिदेखि नै नेपाल भित्रिएको बताउँछन्।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक समेत रहेका पाण्डेले भने, ‘यो नयाँ कुरा हैन। दुई महिना अगाडिको कुरा अहिले विज्ञप्ति निकालेर के काम? मान्छे मरिसकेपछि विज्ञप्तिको केही अर्थ छैन।’

नेपालमा जुन नयाँ प्रकार भेटिएको छ त्यो भारतीय भेरियन्टबाटै म्युटेट भएर विकसित भएको नयाँ भेरियन्ट हो। अर्थात नेपालमा अहिले पत्ता लागेको भनिएको दुबै नयाँ प्रकार भारतमा यसअघि नै देखिसकेको हो र भएका प्रकारमध्ये सबभन्दा संक्रामक र बढी क्षति गर्नसक्ने पनि भारतीय भेरियन्ट नै रहेको जानकार बताउँछन्। 

नेपालमा पनि अहिलेको क्षति भारतीय भेरियन्टले नै निम्ताएको भन्दै पाण्डेले भने, ‘भारतीय भेरियन्ट नभएको भए यत्रो मान्छे मर्दै मर्दैन थियो नि! सबैलाई थाहा थियो कि भारतीय भेरियन्टले यस्तो घातक संक्रमण ल्याएको हो भनेर। त्यसैले अहिले मन्त्रालयको विज्ञप्तिको अर्थ छैन। यो मान्छेलाई अल्मल्याउने काम मात्र हो।’

दुई महिना अगाडि भारतमा यो प्रकार पत्ता लाग्नेबित्तिकै नेपालमा पनि यो भित्रिसकेको छ भने त्यतिबेलै बुझ्नुपर्ने पाण्डेको भनाइ छ।


Advertisement


‘मान्छे मरिसकेपछि भेरियन्ट भनेर के गर्नु? अहिले अक्सिजन खोज्नुपर्ने बेलामा स्वास्थ्य मन्त्रालयले मान्छेलाई दुइटा भेरियन्ट, तीन वटा भेरियन्ट पत्ता लाग्यो भनेर मूर्ख बनायो।’

उनले स्वास्थ्य मन्त्रालयले बेलैमा गर्नुपर्ने काम ढिला गरेको भन्दै भारतीय भेरियन्ट हो वा हैन भनेर पत्ता लगाउने काम दुई महिना अगाडि नै हुनुपर्ने जनाए।

त्यसैले अहिले नयाँ भेरियन्ट पत्ता लाग्यो भनेर निकालिएको विज्ञप्तिको अर्थ नहुने भन्दै उनले भने, ‘जसले ज्यान गुमाए, जो मान्छेहरू अक्सिजन नपाएर घुमिरहेका छन्, ती सबैलाई यो नयाँ भेरियन्टले नै हो भन्ने थाहा छ। मन्त्रालयले यस्तो सूचनाको सट्टा यति अक्सिजन सिलिण्डर आयो भनेर नोटिस निकाल्दे हुन्थ्यो नि!’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने यसअघि नै नेपालमा यो नयाँ भेरियन्ट रहेको कुरामा सहमत छैनन्।

विज्ञहरूले राखेका धारणाबारे डा. गौतमले भने, ‘दुई महिना अगाडि नै नेपालमा थियो भन्ने उहाँहरूलाई कसरी थाहा भयो? त्यसको स्रोतको आधार के? मृत्यु भयो भनेर अहिले पत्ता लागेकै भेरियन्टले भयो भन्न मिल्दैन नि! अनि परीक्षण नगरी गफ दिएर मात्र हुन्छ।’

उनले अहिले बाँकी कुरा थाहा नभएको भन्दै अहिले भएका संक्रमणहरूमध्ये ३५ वटा नमूना पठाएकोमा ३४ वटामा भारतमा भेटिएको नयाँ भेरियन्ट भेटिएको हो भनेर बुझ्नुपर्ने बताए। 

भाइरोलोजिष्ट डा. लुना भट्ट पनि यो नयाँ भेरियन्ट पहिल्यै नै नेपाल भित्रिसकेको बताउँछिन्।

उनले नेपालमा सिक्वेन्सिङ ढिला भएर अहिले पत्ता लागेको भए पनि यो भारतमा देखिसकेपछि नेपालमा पनि भित्रिएको जनाइन्।

‘यो भर्खरै देखिएको हैन। सिक्वेन्स पो ढिला भएर भर्खर रिपोर्ट आयो। जुनबेला भारतमा फैलिन थाल्यो त्यो बेला नै नेपाल भित्रिएको हो। त्योबेला नै बेलायतमा देखिसकेको थियो भनेपछि नेपालमा झन् नभित्रिने कुरै भएन।’

उनले दोस्रो लहरको संक्रमण जुन हिसाबले बढिरहेको थियो त्यसले पनि भारतीय भेरियन्ट नै हो भन्न सकिने जनाइन्। तर ढिला पत्ता लागेको भए पनि झन् सतर्क रहनुपर्ने उनी बताउँछिन्। 

अन्य भेरियन्टभन्दा यी दुबै नयाँ भेरियन्ट झन् डरलाग्दो रहेको भन्दै थप सतर्क रहनुपर्ने उनको सुझाव छ।

यो दुबै नयाँ भेरियन्ट बढी संक्रामक, जसलाई पनि संक्रमण गर्नसक्ने र खोप र प्रतिरोधात्मक क्षमतालाई पनि छल्न सक्ने विभिन्न अध्ययनहरूले जनाएको भन्दै थप जोगिनुपर्ने उनी बताउँछिन्। 

पत्ता लागेको भनिएको दुई भेरियन्टमध्ये बी.१.६१७.१ भन्दा बी.१.६१७.२ झन् बढी ‍संक्रामक रहेको अध्ययनले देखाएको छ।

नेपालमा बी.१.६१७.१ भन्दा बी.१.६१७.२ प्रकार बढी भेटिएको छ। त्यसले गर्दा पनि थप जोखिम रहेको विज्ञहरूको भनाइ छ। 

यद्यपि यी दुबै भेरियन्ट पहिलेको भेरियन्टभन्दा बढी संक्रामक रहेको भन्दै डा. भट्टले दुबै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषित गरेको जनाइन्।

Copy link
Powered by Social Snap