२०८१ बैशाख २४

उद्घाटन भएका भयै भएर मान्छे आत्तिएका छन् : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् ।  शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् । 

‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने,  ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’


Advertisement


उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सकारात्मक भावनाबाट सञ्चालित हुन जरुरी रहेको बताए ।  ‘हामीले धरहरासँग बसपार्क, वा पार्किङलाई जोडेका हौंला तर त्यो बेग्लै कुरा हो । त्यसको उद्घाटनको सन्दर्भमा पनि कुनै विषय नपाएपछि मानिसहरुले तयार नहुँदै उद्घाटन भन्न भ्याए’ प्रधानमन्त्री ओलीको भनाइ छ ।  

‘यसमा पनि त्यसो भन्न सक्छन् । अझै त्यहाँ जाने बाटोको विस्तार भएको छैन होला बाटो नभई उद्घाटन गर्यो भनेर । जसको आदत नै नकारात्मक टिप्पणी गर्नु हो । कुनै सकारात्मक कुराको स्वीकारोक्ती वा प्रशंसा नगर्नु उनीहरुको आदत भइसकेको छ’, प्रधानमन्त्रीले आफ्नो आलोचना गर्नेहरुलाई  जवाफ दिए । प्रधानमन्त्रीले कोभिड विरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने भन्दै सम्मेलन केन्द्रलाई विकासको एउटा सिँढी थपिएको दावी पनि गरे ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap