२०८१ जेष्ठ २

कोरोनाविरूद्ध लड्ने दंगाली काइदा: कोही अक्सिजन जोहो गर्दै, कोही नि:शुल्क मास्क बाँड्दै

कोरोना महामारीको अनिश्चिचताले घेरेको बेला दाङका स्थानीय एकअर्कालाई सहयोग गर्दै महामारीविरूद्ध लडिरहेका छन्। अक्सिजन उद्योग खोल्न होस् वा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन वा अप्ठेरोमा परेकालाई पैसा जुटाउन अहिले राजनीतिक दलका नेता/कार्यकर्ता, सामाजिक संघ-संस्था र सर्वसाधारणसम्मले समाधानका बाटा खोजिरहेका छन्।


Advertisement


कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्न थालेपछि मंगलबार देवीराम कुसारीले फेसबुकमा तुलसीपुर-१२ को शितलपुर घाट व्यवस्थित गर्न आह्वान गरे। घाटमा चाहिने काठ पनि जम्मा गर्नुपर्ने भएको उनले लेखेका थिए।

फेसबुकमा उनको स्टाटस देखेपछि बुधबार युवा व्यवसायी माधव बुढाथोकी डोजर लिएर शितलपुर घाट पुगे। उनी पुग्दा स्थानीय नेता, शिक्षक, भद्रभलादमी पनि घाटमा आएका थिए। सबै मिलेर सामुदायिक वनबाट काठको जोहो गरे। कतिले व्यक्तिगत रूपमा पनि काठ दिए।

डोजरले बिग्रिएको घाट बनायो। कोभिड-१९ बाट मृत्यु भएका र अन्य कारणले मृत्यु भएकाको दाह संस्कार गर्न फरक-फरक ठाउँ बनाइयो।

देशभरिका अस्पतालमा संक्रमित अक्सिजन नपाएर छटपटाइरहेका समाचार दिनदिनै आइरहेका छन्। तुलसीपुर नगर विकास समितिका पूर्वअध्यक्ष तथा माओवादी केन्द्रका युवा नेता यज्ञबहादुर केसीले बुधबार आफ्नो जन्मदिनको अवसरमा २२ सिलिन्डर अक्सिजन तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरे।

केसीको सहयोग भेन्टिलेटरमा रहेका बिरामीलाई ठूलो सहयोग पुग्ने भन्दै मेयर पाण्डेले केसीलाई धन्यवाद दिए।

बिहीबार नेपाल विद्युत प्राधिकरणका कर्मचारी देवेन्द्र बैरागीले फेसबुकमा आफ्नो कार कोरोनाका संक्रमितलाई अस्पताल पुर्‍याउनका लागि दिने बताए। नि:शुल्क गाडी दिने भनेपछि धेरैले उनको तारिफ गरेका छन्।

तुलसीपुरका युवा पदम पोखरेलको समूह उद्योगहरूमा अक्सिजन सिलिन्डर खोज्न तल्लिन छ।

उनकै सहयोगले दुई दिन अगाडि बबईका पत्रकार लक्ष्मण बस्नेतलाई एम्बुलेन्ससहित अक्सिजन सेवा उपलब्ध भयो। उनको अहिले भैरहवामा उपचार भइरहेको छ।

पोखरेलले चलाएको ‘मेरो एक हजार’ अभियानमा धेरै मानिस जोडिएका छन्। एक व्यक्तिले एक हजार रुपैयाँ दिए एउटा सिलिन्डर अक्सिजन भर्न मिल्छ।

घोराहीका नेपाली कांग्रेसका युवा नेता वीरबहादुर केसी (विरू) ले गत वर्षदेखि सुरू गरेको  नि:शुल्क मास्क वितरण अभियान फेरि सुरू गरेका छन्। उनी सर्वसाधारणलाई कोरोनाबारे जोगिन मास्क लगाउन अनुरोध गर्दै हिँड्ने गर्छन्।

बिहीबार नै घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई ५० सिलिन्डर अक्सिजन सहयोग गर्‍यो। त्यो सहयोग पाउनासाथ अक्सिजनसहितको २५ आइसोलेसन बेड सञ्चालन गरिरहेको प्रतिष्ठानले तत्कालै थप १० बेडमा त्यो सुविधा थप्यो।

घोराही नगरले कोरोना संक्रमित बिरामीको उपचारमा बजेट अभाव देखेपछि पहिलो चरणको १० लाख रकम उपलब्ध गराएको छ। उसले प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ  सहयोग गर्ने निर्णय गरेको छ। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत वर्ष नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्घाटन गरेको १० बेडको आइसियू कक्ष अझैं सञ्चालनमा आउन सकेको छैन।

२०७७ वैशाख ३१ गते उद्घाटन भएको आइसियू कक्ष अक्सिजन प्लान्टको अभावमा सञ्चालनमा आउन नसकेको हो।

बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर दाङ उद्योग वाणिज्य संघ घोराहीले दुई दिनअगाडि खाली सिलिन्डर खोजेर कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ५० र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० वटा दिएको छ।

बन्द अक्सिजन प्लान्ट फेरि सुरू हुँदै

अहिलेसम्म दाङमा नेपालगञ्जबाट अक्सिजन सिलिन्डर ल्याउनु पर्छ।

कोरोनाका सक्रिय संक्रमित दिनदिनै बढ्दै गएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीलगायत अस्पतालमा अक्सिजनको अभाव चर्किइरहेको छ।

अक्सिजनकै अभावका कारण बुधबार बेलुका  घोराही र बबईका गरी दुई  संक्रमितको मृत्यु भयो। बुधबार नै बेलझुण्डी अस्पतालका व्यवस्थापक द्रोण वलीले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसकिने बताइसकेका छन्।

यो अवस्था देखेर स्थानीय प्रशासनले उपाय खोज्न थाल्यो। खोजी गर्दै जाँदा घोराही उपमहानगरपालिका-३ झिङ्नीमा २०७३ सालमै स्थापना भएर बन्द भैसकेको  दाङ अक्सिजन उद्योग प्रालि  छ भन्ने पत्ता लाग्यो।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल उद्योग अनुगमन गर्न गए। करिब चार करोडको लगानीमा सञ्चालनमा आएको उद्योग सहज विद्युत आपूर्ति नहुँदा बन्द भएको रैछ।

दाङ अक्सिजन उद्योग प्रालिका सञ्चालक टोपाराम पौडेलसँग उनले फेरि उद्योग सञ्चालन हुनेबारे छलफल गरे। विद्युत आपूर्ति सहज भए तत्कालै उद्योग सञ्चालन गर्न सकिने टोपारामले बताए।

प्रजिअ पौडेलले सरोकारवाला निकायसँग छलफल गरे। दुई दिनअगाडि घोराहीका मेयर नरूलाल चौधरीको समन्वयमा प्रजिअ पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक पौडेलबीच सहमति भयो।

सहमतिअनुसार बुधबारदेखि नै उद्योगमा फिडरलाइन जोड्ने काम सुरू भइसकेको छ। आधा काम भए पनि बुधबारको वर्षा र हावाहुरीले काममा बाधा पुगेको हुँदा बिहिबार बिहानैदेखि फिडरलाइन जोड्ने काम भइरहेको उद्योग सञ्चालक परिवारकै भरत पौडेलले जानकारी दिए।

‘फिडरलाइन जोड्ने काम करिब अन्तिम चरणमा छ र बिहीबार  बेलुकासम्म सकिन्छ होला,’ पौडेलले भने ‘फिडरलाइन जोडेपछि अर्को दिन १ सय २० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छौं।’

प्रजिअ पौडेलको सहयोगले गृह मन्त्रालयको आदेशमा कोरोनाभाइरस महामारीसम्मका लागि फिडरलाइन जोड्ने र अक्सिजन उत्पादन जिल्लामै गर्ने सहमति भएको पौडेलले जानकारी दिए।

‘पहिले आफ्नै खर्चमा १५० केभिएको ट्रान्सफर्मर जडान गरेर उत्पादन गर्दै आएका थियौं,’ पौडेलले भने ‘यसपालि फिडरलाइनका लागि सरकारले नै छुट्टै ट्रान्सफर्मर र अन्य उपकरण ल्याएर जोडिदिएको छ।’

पौडेलका अनुसार महामारी सकिएपछि फेरि ती सामग्री निकालेर लैजाने सहमति भएको छ।

पाँच वर्ष पहिले स्थापना भएको उद्योग दुई वर्ष जति नियमित चले पनि विद्युत आपूर्तिमा समस्या भएपछि बन्द गर्नु परेको पौडेलले बताए।

‘यो विपदको घडीमा फेरि अक्सिजन उत्पादन गरेर बिरामीको ज्यान जोगाउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो,’ उनले भने, ‘यसमा नाफा-घाटा जोडिदैन, सेवा भावले सबैले हातेमालो गर्न जरूरी छ।’

आफूहरूले उत्पादन थालेपछि अब जिल्लाका अस्पतालमा गम्भीर बिरामीलाई आपत् पर्दा १०-१५ वटा सिलिन्डर जतिबेला पनि पुर्‍याउन सम्भव हुने उनले बताए।

Copy link
Powered by Social Snap