२०८१ जेष्ठ ६

नेपाली भूमी मिच्दै भारतको एकतर्फी तटबन्ध : आज पनि संयुक्त टोलीले अध्ययन गर्दै

भारतले दार्चुलाको महाकालीमा नेपालको भूमि अतिक्रमण गर्दै एकतर्फी बाँध बनाएको स्थानमा दुबै देशका नापी प्राविधिकले अध्ययन जारी राखेका छन् । सोमबारदेखि सुरु भएको दुबै देशका नापी अधिकारी सम्मिलित टोलीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फै क्षेत्रमा अध्ययन अवलोकन थालेको हो ।

सो स्थानमा भारतले महाकाली नदीको बहावलाई असर पुग्नेगरी नेपाली भूमिमै तटबन्ध बनाउँने काम गरेपछि संसदमा समेत सरकारले ध्यान नदिएको भनेर आलोचना भएको थियो ।  २०७० सालमा महाकाली नदीमा आएको बढीले गरेको धार परिवर्तन गरेपछि महाकाली नगरपालिकाको खेल मैदान, वन कार्यालयको भवन लगायतका भूभाग महाकाली नदीपारि गएको छ ।


Advertisement


अतिक्रमित क्षेत्रमा नेपालको तर्फबाट प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल, सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा र  भारतका तर्फबाट डीएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरजसिंह र दिनेश सिंह सहभागी भएर सो क्षेत्रको अध्ययन गरिरहेका छन् ।

सोमबार दुबै देशका प्रतिनिधिले सो स्थानमा पुगी प्रारम्भिक छलफल गरेपनि आ–आफ्नो विभागको सहमति लिनुपर्ने भएकोले स्थगित भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले रातोपाटीलाई जानकारी दिए । आज पनि बिहान १० बजेदेखि प्राविधिक अध्ययन थालिएको उनले बताए । उनले भने–‘महाकाली नदीमा दुबै तर्फका टोली आज पनि पुगेका छन् । आफ्नो भूभाग कतातिर के कति परेको छ, दुबै तर्फको टोलीले अध्ययन गरी बेलुकासम्म केही नयाँ कुरा आउन सक्छ ।’

अहिले भारतको तर्फबाट एकतर्फी रुपमा तटबन्ध बनाउने काम रोकिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय माग्दै यसबारे सरकारलाई ध्यानाकर्षण गराउँदै भारतले नेपाली भूमी अतिक्रमण गर्दै थालेको तटबन्ध रोक्न माग गरेका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap