२०८१ बैशाख १७

सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

 प्रहरी प्रधान कार्यालयले दाङको सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं एसएसपी बसन्त कुँवरले सवारी ज्यान मुद्दामा आर्थिक अनियमिततामा मुछिएका दाङका एसपी गणेश चन्दमाथि तत्काल छानबिन गरेर प्रतिवेदन पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको रातोपाटीलाई बताए ।

एसपी चन्दले सवारी ज्यान मुद्दामा आर्थिक चलखेल गरेको विषयमा रातोपाटीमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले घटनाको बारेमा ध्यानाकर्षण भएको जनाएको हो । सवारी ज्यान मुद्दामा आर्थिक चलखेलसहितका समाचार सञ्चारमाध्यममा आएपछि प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले चासो ब्यक्त गर्दै आफ्नो सचिवालयमार्फत घटनाको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिइसकेको प्रवक्ता कुँवरले रातोपाटीलाई बताए ।


Advertisement


‘घटनाको तत्कालै अनुसन्धान गर्न पनि प्रदेश प्रहरीलाई निर्देशन भइसकेको छ,’ उनले भने, ‘गलत गर्नेलाई कारबाही गर्छौँ ।’

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि एसपी चन्दमाथि प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरिसकेको छ ।

सवारी ज्यान मुद्दाका अभियुक्तले मापसे गरेको रिपोर्ट अस्पतालले दिए पनि एसपी चन्दले अभियुक्तद्वारा मापसे नगरेको अनुसन्धान प्रतिवदेन बनाएर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको खुलासा भएको थियो । गत मंसिर २० गते मदिराले मात्तिएर पिकनिकबाट फर्किएको अवस्थामा अभियुक्तले चलाएको स्कार्पियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने सोही गाडीमा सवार अन्य दुईजना घाइते भएका थिए ।

दुर्घटनामा परेर घोराही उपमहानगरपालिका वडा नं. १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको थियो । मदिराले मातेका चालकको लापरबाहीका कारण दुर्घटना भए पनि चालक समीर पन्तलाई बचाउन एसपी चन्दकै निर्देशनमा निजले मापसे नगरेको भनेर अनुसन्धान प्रतिवेदन बनाइएको थियो । जबकि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वास्थ्य परीक्षणमा चालक पन्तको अल्कोहल पोजेटिभ देखिएको थियो ।

दुर्घटना लगत्तै प्रहरीले चालकलाई नियन्त्रणमा लिएको भए पनि अल्कोहल पोजेटिभ देखिने भएपछि प्रहरीकै सेटिङमा कागजमा पक्राउ नदेखाइ ‘घाइतेलाई थप उपचारका लागि’ भन्दै कोहलपुर भगाइएको थियो ।

कोहलपुर प्रहरीबाट अड्डा सार्दै दाङ ल्याएपछि प्रहरीले पन्तको स्वास्थ्य परीक्षण गर्दा मादक पदार्थ सेवन नगरिएको देखिएको कागज प्रहरीले अनुसन्धान प्रतिवेदनमा पेश गरेर चालक पन्तलाई उन्मुक्ति दिएको थियो ।

स्रोतका अनुसार एसपी चन्द अहिले नेकपाको ओली समूहका जिल्लास्तरका नेताहरुको च्यानलबाट आफुलाई कारबाही हुनबाट जोगाउन मुख्यमन्त्रीसँग कुरा पु-याइरहेका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap