२०८१ बैशाख २१

देउवाको प्रश्न : राजनीति छोड्ने कि चुनावको तयारी गर्ने ?

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भने,  ‘संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ ?  अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ ?’

अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत  किन चाहियो भन्ने देउवाको प्रश्न थियो । ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि ,’  उनले

यस्तै देउवाले चुनाव हुँदैन भन्ने डर हटाउन आग्रह गर्दै चुनावका लागि तयार रहन निर्देशन दिए । ‘डराएर कहीँ हुन्छ। डर हटाउनुस्। चुनावमा भाग लिने जित्ने हो,’ उनले भने।  


Advertisement


प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराइ सुख पाउँने देउवाको भनाइ छ । उनले भने,  ‘चुनाव हुँदै हुँदैन भनिरहेका छन् । चुनाव भयो भने नि ? चुनाव हुन्छ, हुन्छ, हुन्छ । तयार हुनुस् । पार्लियामेन्ट फिर्ता भयो भने भयो, भएन भने त चुनाव हुन्छ नि । ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ ?’ 

उनले चुनाव हुँदैन भनेर भ्रम फैलाउनेको पछि नलाग्‍न आग्रह गरे । उनले भने,  ‘चुनावका लागि तयार भएर बस्ने । पार्लियामेन्ट फिर्ता भयो भने हामी काम गरौंला । फिर्ता भएन भने चुनाव हुन्छ ।’ 

नेकपाका दुवै समूहलाई निर्वाचन लागेको र चुनाव चिह्न पछि लागेको भन्दै आफ्ना पार्टीका नेताहरु भने चुनाव हुँदैन भनेर बसेको देउवाको गुनासो थियो । उनले भने, ‘भइहाल्यो भने तयारी गर्न पर्दैन, भाग्ने ? तयारी गर्दा के बिग्रिन्छ ? चुनावसँग डराएर हुन्छ ? कि राजनीति छोड्नुस्, कि चुनावको तयारी गर्नुस्।’

काँग्रेसलाई काँग्रेसबाहेक कसैले हराउन नसक्ने देउवाको दाबी छ । यस्तै देउवाले प्रधानमन्त्री ओलीको खिलापमा काँग्रेसका नेताहरू बोल्न सक्ने भएको भन्दै धन्यबाद दिए ।

‘मैले बोलेको थिएँ, तपाईहरुलाई याद होला । कम्युनस्टि पार्टीको शासन आएपछि बोल्न, लेख्न पाइने छैन । हास्न, रुन पनि पाइने छैन भनेको थिएँ,’ मञ्चमा रहेका नेताहरूतर्फ हेर्दै देउवाले भने,   ‘आज बल्ल बोल्ने भएछन् । ओलीको खिलापमा बोल्ने डर हटिसक्यो धन्यवाद छ। ओलीको खिलापमा बोल्न सक्ने हुनुभएछ । अझै प्रचण्डको खिलापमा बोल्न नडराउनुस् है।’  

देउवाले प्रचण्डको खिलापमा पनि बोल्नुपर्ने बताए ।  ‘प्रचण्डको खिलापमा बोल्न हामी डराउँछौं । प्रचण्डको खिलापमा बोल्न डराएको डराएइ छन् नि यहाँ । प्रचण्ड खिलापमा अझै बोल्न नसक्ने भएका छन् विचराहरु । त्यस कारण म यस्तो पार्टी बनाउन चाहन्छ, जुन दिन प्रचण्ड र ओलीको खिलापमा बोल्न सक्ने हिम्मत भएको पार्टी बनाउनुपर्ने आवश्यकता छ । त्यही काममा हामीले लाग्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा नेता प्रकाशमान सिंह, अर्जुननसिंह केसी, रामशरण महत, प्रदीप पौडेल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap