२०८१ बैशाख २१

मलाई सिध्याउन केपी ओलीले राम मन्दिरको कुरा ल्याएः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा राम मन्दिर बनाउने कुरा ‘प्रचण्ड सिध्याउन सकिन्छ’ भन्ने उद्देश्यले ल्याइएको बताएका छन् । चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ ?’ भन्दै ओली माथि प्रतिप्रश्न तेस्र्याए । उनले भने, ‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ?’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिँदै उनले त्यसमा सबैभन्दा बढी सहयोग आफूले गर्ने बताए । राम मन्दिर बनाउने कुरा राजनिति गर्न र प्रचण्ड सिध्याउने अभियान चलाउन मात्र ल्याइएको भन्दै उनले त्यस्तो हो भने ओली आफैं खाल्डोमा पर्ने उल्लेख गरे । 


Advertisement


भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधी जित्न सफल भएको उनले सुनाए ।

 संसद् पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाईंं नै हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले आफूलाई पदको कुनै लोभ नभएको बताए । यस्तै उनले ओलीले घोषणा गरेको चुनाव हुँनै नसक्ने पनि बताए । 

सर्वोच्च अदालतबाट पुर्नस्थापना नभए के हुन्छ भन्ने संचारकर्मीले बारम्बार गरेको प्रश्नमा अध्यक्ष दाहालले देश अराजकताको भुमरीमा पर्ने, देशमा अतिवाद फैलिने, दक्षिणपन्थी अतिवाद, वामपन्थी अतिवाद फैलने खतरा हुने बताए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap