२०८० चैत्र १५

सरकारको आरोपमा सत्यता छैनः सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् ।


Advertisement


संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए । उनले भने– ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्दपूर्ण ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौं । हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’

सभामुख सापकोटाले प्रतिनिधिसभाको अधिवेशन सूचारु गर्ने कुरामा सरकारले अवरोध गर्नु बेठिक भएको पनि बताएका छन् । संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यै पनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधिसभालाई सञ्चालन गर्न अवरोध गरेको बताए । उनले  भने– ‘म के भन्न चाहन्छु भने एउटा यस्तो अवरोध गरेको कुरा चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे बजेट पास गर्ने कुरामा होस् कुनै कुरामा पनि प्रतिनिधिसभाले सहयोग नै गरेको छ । कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन् । त्यसकारण यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ त्यो बेठिक छ ।’

संसदले संविधान संशोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्यो भन्नु गलत भएको पनि उनले बताए । संसदभित्र कहिल्यै पनि प्रतिपक्ष र कुनै पनि सांसदले अवरोध नगरेको पनि बताए । उनले भने– ‘हामीले संविधान संशोधन गरेर नक्सा पास गर्यौं, त्यो सायदै अभूतपूर्व एकता थियो हाम्रो संसदमा प्रकट भएको । त्यसैगरी यो पनि स्पष्ट पार्न चाहन्छु संसदभित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन् ।’

संसद फेरि पनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए । उनले भने– ‘दुईवटा सदन चलाएको अनुभवसहित हाम्रो व्यवस्थित देशको सर्वाङ्गिण कुरामा ध्यान दिँदै व्यवस्थित ढंगले संसद सञ्चालन गर्ने तयारी हँुँदै गर्दाखोरी हठात संसद सञ्चालनमा अवरुद्धता आएको छ । तपाईहरुले मात्रै होइन यो देशका सबै संविधानविद्हरु, कानूनविद्हरु, विज्ञहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांशले चिन्ताका साथ सूचारु हुनुपर्छ भन्ने आवाज उठाइराख्नुभएको छ । त्यस सम्बन्धमा म गम्भिरतापूर्वक जिम्मेवारीपूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’

सभामुख सापकोटाले संसदले सरकारलाई जहिले पनि सहायोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए । प्रतिनिधिसभाले सरकारलाई कहिले पनि कार्यपालिकालाई असहयोग नगरेको अवस्थामा सरकारले विघटन गरेर प्रतिनिधिसभालाई अवारेध गर्न नहुने पनि उनको भनाई छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap