२०८१ बैशाख १४

कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरियो: भीम रावल

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका छन् । कैलालीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको जिकिर गर्दै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने टिप्पणीसमेत गरे । ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकतासम्बन्धी विवाद समाधान गर्छ’ उनले भने ।


Advertisement


कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भएको भारतीय अतिक्रमणका विरुद्ध देशभक्त नागरिकहरु एकजुट भएपछि मात्र सरकारले नेपालको नयाँ नक्सा प्रकाशित गरेको भन्दै रावलले ती भूभागलाई भारतकै स्वामित्वमा यथास्थितिमै राख्न हठात् प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटनमार्फत लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्दै त्यसका विरुद्ध आफूहरुले खबरदारी गरिरहने बताए । सोही क्रममा माघ १७ गते धनगढीमा प्रदेशस्तरीय बृहत् प्रदर्शन र जनसभा हुने उनले बताए । 

संविधानसभामा संविधान निर्माणको समयमा बहुमतको सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गर्न नपाउने र सरकार बन्ने विकल्प हुँदासम्म त्यसको विकल्पमा जानुपर्ने कुरामा सबैको सहमति रहेको उनले स्मरण गराए । सोही सहमति अनुरुप नेपालको संविधानमा व्यवस्था गरिएको भए पनि त्यस्तो स्पष्ट संवैधानिक व्यवस्थाको अपव्याख्या गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी देश र लोकतन्त्रलाई नै संकटमा पारेको बताए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap