२०८१ जेष्ठ ४

काँग्रेसल केन्द्रीय समितिको आकस्मिक बैठक आज

काठमाडौं । नेपाली काँग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १० बजेका लागि बैठक बोलाइएको छ। स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

साथै मङ्सिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने काँग्रेस मुख्य सचिव पौडेलले जानकारी दिए । 


Advertisement


स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ । मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा शुक्रबार श्रेष्ठको निधन भएको थियो । 

पार्टीको एघारौं महाधिवेशन उनी केन्द्रीय सदस्य भएका थिए । २०१८ सालमा पञ्चायती व्यवस्थाको विरोध गर्दा उनी बमकाण्डमा पक्राउ परेका थिए। नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन÷संघर्षका क्रममा उनले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन विताएका थिए । 

३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य थिए ।

श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं ३ बाट उम्मेदवार बनेका थिए। उनी २०५६ सालमा काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको सभापति भएका थिए । श्रेष्ठको एक छोरा र तीन छोरी छन्।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap