२०८१ बैशाख १७

प्राधिकरणको ३३/११ केभी लाँकुरी शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी शवस्टेशन चार्ज भएको छ ।  ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका–३ लाँकुरीमा नवनिर्मित शवस्टेशनको सोमबार उद्घाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ ।

योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएका छन् । शवस्टेशन अभावमा यसअघि जिल्लामा पटक–पटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो । यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ शवस्टेशन सञ्चालनमा आएसँगै विस्थापित भएको छ ।

शव स्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ । भारतको एटू–जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त शवस्टेशन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो ।


Advertisement


शव स्टेशनबाट रोल्पाका सुनील स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउँनेछन् । यसअघि रोल्पामा  प्यूठानको झिम्रुक शव स्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो । 

उज्यालो समृद्धिको प्रतिकः मन्त्री 

शवस्टेशन उदघाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण गरिसक्ने बताए । उज्यालो समृद्धि र विकासको प्रतिक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । ‘उज्यालो समृद्धिको प्रतिक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पुर्याउने गरी काम गरिरहेको छ ।’

मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलासययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए । मन्त्री पुनले दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको चर्चा गरे । आफू मन्त्री हुनुअघि जिल्लामा विद्युतका ८ हजार ५ सय ग्राहक रहेकामा हाल २३ हजार पुगेको भन्दै उनले विद्युतको पर्याप्त उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक संख्या ३० हजार पुग्ने बताए । 

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पुर्याउने मात्र नभई विद्युत सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए । प्राधिकरण विद्युत उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागपरेको उनको भनाइ थियो ।  विद्युत अर्थतन्त्रको इन्जिन भएको चर्चा गर्दै शाक्यले लाँकुरी शवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने उल्लेख गरे । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap