२०८१ बैशाख २६

नेपाल र चीन छन् नजिकिदै : अध्यक्ष तिमिल्सिनाको भनाइ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट पारे ।

चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । “कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन् झन् बढेको छ”, उनले भने ।    


Advertisement


सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच शदियौं पुरानो सम्बन्ध  र साझा विशेषता रहेको बताए । विनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीचको सम्बन्ध फराकिलो हुँदै गएकामा उनले प्रसन्नता व्यक्त गरे । मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२०  स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरे । सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो ।

पछिल्लो समय चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालसमेत सहभागी भएको र  यसबाट आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । एक सातासम्म चल्ने तस्वीर प्रदर्शनीको संयोजन नेपाल चाइना मिडिया फोरमले गरेको हो । कार्यक्रममा चिनियाँ प्रतिनिधिले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रमको सफलताको कामना गरेका थिए ।

फोरमका अध्यक्ष किशोर श्रेष्ठले युनानसित नेपालको हजारौँ वर्ष सम्बन्ध रहेको तथा दुबैबीच भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको, नेपालबाट एक हजार ७४७ किमीको मात्र दूरी भई अढाइ घण्टाको मात्र हवाई उडान  रहेको, नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरु युनानमा आयोजित विभिन्न कार्यक्रममा  प्रमुख अतिथिका रुपमा रहेको र मिडियाबीचको  सम्बन्ध पनि निकै राम्रो रहेको उल्लेख गरे । उनका अनुसार युनानमा दक्षिण एशियाका मात्र २० हजार  विद्यार्थी अध्ययनरत छन् ।  सात दिनको प्रदर्शनीमा युनानका भूगोल, जनजाति र संस्कृतिसम्बन्धी मनमोहक ३२  तस्वीर छन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap