२०८१ बैशाख २५

बैतडी बस दुर्घटनाका मृतक ९ जनाकै पहिचान खुल्यो

काठमाडौँ । बिहीबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र प्रसाद जोशी र सोही ठाउँकै २७ वर्षीय करन सिंह ऐडी रहेका छन् । 

यस्तै दार्चुला खरकडा बस्ने तर्कराज गिरी, कञ्चनपुर भिमदत्त न.पा. घर भएकी १५ वर्षीया कृतिका कार्की र बैतडी घर भएका कञ्चनपुरमा कार्यरत प्रहरी जवान रणबहादुर चन्दको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का विज्ना धामी, धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको हो । 


Advertisement


मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य आठ जनाको घटनास्थलमै मृत्यु भएको सुदुरुपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए । 

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने ४ जना डिस्चार्ज भइसकेका छन् । यस्तै बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको एसएसपी सिंहले बताए ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । 

साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन् । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap