२०८१ बैशाख १५

रोल्पा रुन्टीगढी–२ : २५ सयको बिलमा विवाद हुँदा ११ देखि १७ वर्षका किशोरहरूले लिए ६३ वर्षीय होटल सञ्चालकको ज्यान

११ देखि १७ वर्षका किशोरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् । जिल्ला रोल्पा रुन्टीगढी–२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको २५ सयको बिलको बिषयमा विवाद हुँदा किशोरहरूले होटल सञ्चालकको हत्या गरि फरार भएका थिए ।

हत्या भएको १२ घण्टापछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट परिचालित प्रहरी टोलीले  हत्या अभियोगमा चार जना किशोरलाई पक्राउ गरेको छ ।  पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै  १२ घण्टापछि स्थानीयहरूको सहयोगमा ती किशोरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए 


Advertisement


प्रहरी निरीक्षक खड्काले भने, ‘कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए , मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि ढुङ्गामुडा गर्दै कुटपिट गरेर उनीहरु फरार भएको र अनुसन्धान गर्दै जाँदा घरगोठमा फेला पारेका छौँ ।’

थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए । पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसुर अनुसार मुद्दा दर्ता  गरेको छ । पछिल्लो समय रोल्पामा अपराधीक गतिविधिमा बालबालिकाहरूको संलग्नता बढ्दै गईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap