२०८१ बैशाख ११

बैंकिङ क्षेत्र उचालिँदा ४१ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजारको लागि चाडपर्वको अवधि ‘अफ सिजन’ मानिन्छ । दशैंको घटस्थापनादेखि छठपर्वसम्मै यस्तो अवस्था विगतका वर्षहरुमा देखिन्थ्यो । आम जनतामा चाडपर्वको रौनक नसकिने भएकोले यो अवधिमा सेयर बजारमा कारोबार रकम ज्यादै न्यून हुने गथ्र्यो । कारोबार रकम मात्रै नभएर सेयर बजार सूचकमा समेत यो अवधिमा उल्लेख्य उतारचढाव भएको पाइँदैन । 

तर यसपटक यस्तो भएन । ५ दिनको बिदापछि बुधबार पहिलोपटक खुलेको बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण रह्यो । बुधबार नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१.२० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । यो करिब २.५७ प्रतिशतको वृद्धि हो । 

बुधबार नेप्से परिसूचक मात्रै नभएर यसअन्तर्गतका सबै सूचक र व्यापारमूलक क्षेत्र बाहेकका सबै उपसूचक समेत बढेको छ । बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगेको छ । विकास बैंक समूहमा २.९१ प्रतिशत बाहेक अन्य उपसूचकमा भने सामान्य बढोत्तरी देखिएको छ । 


Advertisement


बुधबार पहिलो दिननै बजारमा सूचीकृत १ सय ६७ कम्पनीको सेयर कारोबार भएको छ । जसमा १ सय ३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २५ वटा कम्पनीको मूल्य घट्दा १० वटा कम्पनीको मूल्य भने तटस्थ रहेको छ । 

यो दिन सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीमा सबै वाणिज्य बैंक अगाडी देखिएको छ । ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक र सिटिजन्स बैंकको कारोबार एकैदिन १० करोडभन्दा माथि देखिएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । बढ्दो बजारमा पनि मूल्य गुमाउनेमा भने अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।

बजार खुलेको सुरुमा सामान्य उतारचढाव देखिए पनि यो दिन समग्र बजार अन्तिमसम्म पनि निरन्तर रुपमा बढेर बन्द भएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap