२०८१ बैशाख १३

सुरक्षाकर्मीलाई ७ महिना अघि दिने भनिएको भत्ता दसैंमा पनि दिइएन

९ कात्तिक, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन ।

मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णयको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् ।


Advertisement


दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल गिरेको सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हालसम्म सुरक्षाकर्मीलाई भत्ता बापतको रकम नआएको अनलाइनखबरलाई बताए ।

नेपाली सेना र सशस्त्र प्रहरी बलका कर्मचारीले पनि प्रोत्साहन भत्ता वापतको रकम पाएका छैनन् ।

महामारीका बेला अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भत्ता दिन आनाकानी गरिरहेका बेला सांसदहरुलाई दसैं भत्ता दिइएको थियो । यद्यपि, व्यापक विरोधपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायतले भत्ता नलिने घोषणा गरेका छन् ।

अझ स्मरणीय विषय के छ भने भत्ता दिन आनाकानी गर्ने सरकारले कोरोना उपचार तथा रोकथाम कोषमा ७ दिनको तलब कटौति गरेर जम्मा गर्न दबाब दिएको थियो ।

अर्थ मन्त्रालय भन्छ – स्रोत अभाव

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले केही अघि अनलाइनखबरसँग कुरा गर्दै प्रोत्साहन भत्ता किन आएन भन्ने जवाफ आफूसँग नभएको बताएका थिए । तर, अनौपचारिक कुराकानीमा मन्त्रालयका अर्का अधिकारीले भने स्रोत अभावका कारण भत्ता दिन नसकिएको बताएका छन् ।

उनका अनुसार सुरक्षा निकायबाट अपेक्षा गरिएभन्दा धेरै संख्यामा प्रस्ताव आएपछि समस्या भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताउँछन् ।

नेपाल प्रहरीले ५१ हजार बढी सुरक्षाकर्मीका लागि भत्ता माग गर्दै गृहमा पत्राचार गरेको छ भने एक अर्ब ३४ करोड रुपैयाँ माग गरिएको आर्थिक प्रशासन शाखाका एक अधिकृत बताउँछन् । सशस्त्र प्रहरीले असारसम्मका लागि एक अर्ब रकम माग गरेको बताइएको छ ।

नेपाली सेनाले पनि ८ हजारभन्दा बढी अधिकारीका लागि कोरोनासम्बन्धी प्रोत्साहन भत्ता प्रस्ताव गरेको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार जंगीअड्डाले ११ चैतदेखि २६ असारसम्मको प्रस्ताव पेश गरेको छ, जसअनुसार ७३ करोड ४४ लाख ८३ हजार रुपैयाँ सैनिक अधिकारीले पाउनुपर्छ । ‘फ्रन्टलाइनमा खटिएका अधिकृतहरुको हाजिरीका आधारमा विवरण पठाएको सेनाले बताएको छ’, मन्त्रालयका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यही प्रस्ताव हामीले अर्थ मन्त्रालयमा पठाएका छौं ।’

कसलाई कति भत्ता ?

मन्त्रिपरिषद्को निर्णयमा अग्रपंक्तिमा रहेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर संक्रमित, आशंकित र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई समातेर ल्याउने र अस्पतालमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने भनिएको थियो ।

दोस्रो पंक्तिमा रहेर संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता दिने भनिएको थियो ।

लकडाउन र सामाजिक दूरी कायम गर्न खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने भनिएको थियो ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap