२०८० चैत्र १५

खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् ।

काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् ।


Advertisement


कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ ।

तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भिड पनि देखिएन । धेरै वर्षदेखि काठमाडौंमा यसैगरी दशैंको समयमा खसीबोका विक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र पर्याप्त मात्रामा नपाइएका कारण ग्राहकले गतवर्ष भन्दा भढी मूल्य तिर्नुपर्ने बताए ।

काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका विक्री गर्दा पशुचौपायाँको विक्री गर्दै आएका विभिन्न व्यवसायिक संस्थाहरुले भने विरोध गर्ने गरेका छन् । तर काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् ।

किसानहरुले काठमाडौंमा दसैँको षष्ठीको दिन खसीबोका ल्याउने र नवमीको दिनसम्म बिक्री गर्ने गरेका छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap