२०८१ बैशाख ७

दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

काठमाडौं । यो वर्षको दसैँमा डेरी उद्योगहरु समेत बन्द हुने भएका छन् । अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो । 

नेपाल डेरी उद्योग संघले आइतबार र सोमबार (नवमी र विजयादशमी) को दिन आफ्ना सबै उत्पादनहरु बन्द गर्ने तयारी गरेको अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । यो निर्णयका लागि संघले शुक्रबार दिउँसो कार्यसमितिको बैठक डाकेको छ । सो बैठकले यसबारे औपचारिक निर्णय गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए ।

संघले त्यस्तो निर्णय गरेका निजी क्षेत्रबाट सञ्चालित कुनै पनि डेरीका उत्पादन २ दिनसम्म ठप्प हुनेछन् । यो अवधिमा औपचारिक क्षेत्रले किसानबाट किन्दै आएको दुध बजारबाट उठाइने छैन । स्थानीय डेरी फर्महरुले भने स्टक सामानको बिक्री भने निरन्तर रुपमा गर्न सक्नेछन् ।


Advertisement


लकडाउनअघि ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधा अर्थात् ३१ लाख लिटर दुध बजारमा बिक्री हुन्थ्यो । त्यसमध्ये करिब १० लाख लिटर दुध औपचारिक माध्यमबाट बिक्री हुने गरेको थियो । लकडाउनको समयमा ३० प्रतिशतमा झरेको उत्पादन लकडाउन खुला भएपछि समेत अहिले ५० प्रतिशत भन्दा माथि पुग्न नसकेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

अघिल्लो वर्ष दसैँको समयमा बैङ्क तथा वित्तीय संस्थाहरु समेत खुला रहन्थे । यो वर्ष ४ दिनसम्म बैङ्कका कुनैपनि शाखा खुला नहुनेगरी बन्द भएका छन् । डेरी उद्योगलाई पनि कहिलै बन्द नहुने अत्यावश्यक क्षेत्र मानिए पनि यो वर्ष यो क्षेत्र पनि बन्द हुने निश्चित भएको हो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap