२०८१ बैशाख ७

गोरेटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

Credit: OnlineKhabar

२३ असोज, काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ ।

घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व सेनाको विकास निर्माण कार्यदल गणका प्रमुख सेनानी रमेश गुरुङले गरेका छन् ।

टोलीले सडक निर्माणका लागि अस्थायी क्याम्प खडा गर्नका लागि स्थानको पनि रेकी गर्नेछ भने प्रस्तावित रुटको सर्भेसमेत गर्ने पौडेलले अनलाइनखबरलाई बताए ।

उनका अनुसार प्रारम्भिक अध्ययनपछि यो वर्ष हुम्लिङ र माल भन्ने स्थानमा दुई वटा क्याम्प राख्ने तयारी गरिएको छ । यो वर्ष सर्भेका लागि ५ करोड ५० लाख रुपैयाँ सरकारले छुट्टयाएको छ । अर्को वर्ष छाङरुमा पनि क्याम्प राख्ने तयारी गरिएको छ ।


Advertisement


घोरेटो बनाउन ८ सय किलो विष्फोटक पदार्थ प्रयोग

नेपाली सेनाले १९ असोजमा घोरेटो बाटो स्थानीय सरकारलाई हस्तान्तरण गरेको थियो । यो गोरेटो निर्माणका लागि सरकारले आर्थिक वर्ष ०७६/७७ मा कुल १ करोड ८ लाख ३६ हजार रुपैयाँ बजेट छुट्टाएको थियो ।

नेपाल–भारत सीमा विवादपछि यो गोरेटो निर्माण राष्ट्रिय महत्वको विषय बनेकाले सेनाले एमआई १७ हेलिकोप्टरको प्रयोगबाट निर्माण सामग्री लगेर द्रुत गतिमा सडक बनाएको अधिकृतहरु बताउँछन् ।

‘आयोजना निर्माणका क्रममा भौगोलिक अवस्थितिका कारण हरेक कार्यमा हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएकाले यसको लागत थप बढेको छ’, प्रवक्ता पौडेल भन्छन्, ‘सेनाले २० वटा उडानमार्फत करिब ११ हजार किलो निर्माण सामग्री ढुवानी गरेको छ ।’

उनका अनुसार सेनाले गोरेटो बाटो निर्माणका क्रममा १५ सयभन्दा बढी स्थानमा ड्रिल गरेको छ भने ८ सय किलो विष्फोटक पदार्थ प्रयोग भएको छ । भारी वर्षा र प्रतिकुल मौसमका कारण २१ दिन निर्माण कार्य रोकिएकाले ८५ दिनमा घोरेटो तयार भएको पौडेलको भनाइ छ ।

गोरेटो बनाउने क्रममा एक जनाको मृत्यु

सैनिक प्रवक्ता पौडेलका अनुसार गोरेटो बनाउने क्रममा १९ भदौमा एक जना स्थानीय श्रमिकको मृत्यु समेत भएको थियो । कठिन परिस्थितिमा काम गरेका वेला माथिबाट खसेको ढुंगाले लागेर देवानसिंह धामीको मृत्यु भएको हो ।

रातको समयमा घटना भएको भए पनि हेलिकोप्टरबाट उद्दार गरेर दार्चुला सदरमुकामसम्म उनलाई ल्याइए पनि उपचारका क्रममा मृत्यु भएको पौडेल बताउँछन् ।

‘उनको मृत्युपछि बीमा बमोजिमको १० लाख रुपैयाँ दिएका छौं’, पौडेलले अनलाइनखबरसँग भने, ‘साथै, योगदानको उच्च मूल्यांकन गर्दै प्रधानसेनापति प्रशंसा निशान पनि उहाँकी धर्मपत्नीलाई दिएका छौं ।’

गोरेटो निर्माणमा विकास निर्माण कार्यदलका सेनानी इञ्जिनियर रुपेन्द्र थापाको नृेतृत्वमा ६५ जनाको टोली खटिएको थियो । साथै, कोभिड–१९ भाइरसका कारण सेनाले एकपटकमा १२ जना स्थानीय श्रमिकलाई मात्र प्रयोग गरेको थियो ।

यो सडक तयार भएसँगै अब छाङरुवासीले जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने समस्या टरेको छ । यसअघि सदरमुकाम जान छाङरुवासीले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । नेपाल–भारत सीमा विवाद भएपछि भारतीय पक्षले त्यसमा पनि अवरोध गर्दै आएको थियो ।

मौरी भिरमा रहेको ठूलो चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियो । व्यास गाउँपालिका–१ छाङरूमा १ सय १५ र तिङ्करमा ६५ घरधुरी छ भने दुई गाउँमा गरेर एक हजार २ सय जनाको वसोवास रहेको अधिकारीहरु बताउँछन् ।

Copy link
Powered by Social Snap