२०८० चैत्र १६

नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी, कहाँबाट ल्याए ?

साभार: रातोपाटी

पर्सा । बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाकमा ठगी गर्दै आएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले पक्रेको छ ।

रायले लगाएको इन्सपेक्टरको बर्दी सक्कली रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार रायले लगाएको पोशाक नेपाल प्रहरीले लगाउने सक्कली बर्दी हो । 

बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए ? प्रहरी संगठनमा चासोको विषय बनेको छ । रायले बर्दी कहाँबाट ल्याए अनुसन्धान भइरहेको एसपी पन्त बताउँछिन् ।

काठमाडौँबाट किनेर ल्याएको रायले प्रहरी समक्ष बयान दिएका छन् । यद्यपि कुन टेलरमा सिलाउन दिएको खुलाएका छैनन् । 

कामको सिलसिलामा पोशाक च्यातिएको खण्डमा प्रहरी कर्मचारीले जुनसुकै बेलामा पनि पोशाक सिलाउन सक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले बताए । 


Advertisement


तर, नेपाल प्रहरीका कर्मचारीले लगाउने पोसाक जो कोहीले सिलाउन नसक्ने कडायतको दावी छ । ‘हाम्रो मापदण्ड अनुसारको पोसाक कसैले पनि सिलाउन सक्दैनन्,’ प्रवक्ता कडायतले भने ।

नेपाल प्रहरीको आफ्नै टेलर समेत रहेको कडायतले बताए । ‘नयाँ पोशाक सिलाउन परे आफ्नै टेलरमा गएर सिलाउन सकिन्छ,’ एसएसपी कडायत बताउँछन् । 

रायले लगाएको पोशाकमा प्रहरीको नेम प्लेट पनि राखिएको छ । एसपी पन्तका अनुसार यस्तै समुदाय प्रहरी साझेदारीको लोगो पनि लगाएको देखिन्छ । रायले नेम प्लेट कहाँ बनाउन दिएको र समुदाय प्रहरी साझेदारीको लोगो कहाँबाट लिएको खुलेको छैन । 

पक्राउ पर्नुअघि रायले वीरगञ्ज–१६ स्थित देवपार्टी प्यालेसमा लोकसेवाको परीक्षा सञ्चालन गरिरहेका थिए । राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर, असई, सूचक र खरिदारको परीक्षा सञ्चालन गरिरहेको एसपी पन्तको भनाइ छ । 

रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेशपत्र थान–२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेशपत्र थान–२१, तिनको प्रश्न पत्र थान–२६, खरिदारको प्रवेश पत्र थान–१ बरामद भएको छ । 

प्रहरीले रायसँगै बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५७ वर्षीय हिरालाल महतो, बर्ष २८ को वसन्त चौधरी, पर्सा वीरगन्ज महानगरपालिका–१६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का ४७ वर्षीय शिवनारायण चौरसिया र वीरगन्ज–२७ रानीघाटका २५ वर्षीय रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिएको छ ।

Copy link
Powered by Social Snap