२०८० फाल्गुन १३

चिसापानीका माछा चिनाउने कर्णाली पुल




कुरा २०१८ सालको हो। जलस्रोत कार्यालयका कर्मचारी काठमाडौंबाट कैलाली आउनुपर्ने भयो।

त्यो बेला कर्णालीवारि नेपालसँग सुदूरपश्चिम क्षेत्र जोड्ने पुल थिएन। ती कर्मचारी भारतीय बाटो हुँदै तिकुनिया आए। तिकुनिया सीमावर्ती भारतीय बजार हो।


Advertisement


त्यस बेला जलस्रोतकै कर्मचारी रहेका गुरुप्रसाद लिम्बूले तिकुनियाबाट पैदल हिँडाएर उनीहरूलाई चिसापानी पुर्‍याए।

त्यसकै केही वर्षपछि लिम्बूले चिसापानीमा होटल पनि खोले। त्यसपछि अन्य केही व्यक्तिले पसल खोले।

त्यसबेला बर्दियापट्टि कर्णालीका किनारमा बस्ती थियो। हुम्ला, जुम्ला, कालिकोट, दैलेख, अछाम, बाजुरा लगायतका जिल्लाबाट मानिसहरू किनमेल गर्न त्यहाँ पुग्थे।

कर्णाली किनारको त्यो बस्तीका जानकार हर्कबहादुर रावलका अनुसार सन् १९७६ मा ‘कर्णाली वन्यजन्तु आरक्ष’ स्थापना भएपछि बस्ती अन्यत्रै सारियो। त्यही आरक्ष सन् १९८२ मा ‘बर्दिया वन्यजन्तु आरक्ष’ भयो अनि सन् १९८८ मा ‘बर्दिया राष्ट्रिय निकुञ्ज’ घोषणा भयो।

आरक्षबाट उठेर आएको बस्तीका केही मानिस चिसापानीमा बसे, कोही कटासेमा गएर बसे। त्यहीँ रहेको खोटेना बजार ‘पुरानो लम्की’ थियो। कटासेमा ठूलो हाटबजार लाग्थ्यो।

त्यसबेला हटेरू आउनेजाने बाटो चिसापानीमा मात्र थियो। त्यहाँ अहिलेका जस्तो बजार थिएन।

सुदूर र मध्यपश्चिम पहाडका जिल्लाहरूबाट भेडाच्यांग्रा, ऊन, घिउ आदि बेच्न मानिसहरू तराई झर्थे। उनीहरू चिसापानी हुँदै राजापुर पुग्थे। त्यहाँ हाट लाग्थ्यो। हाटबाट आफ्नो सामान बेचेर नुन, कपडा, मिस्री, गुड, भाडावर्तन आदि किनेर त्यही बाटो हुँदै फर्कन्थे।

उनीहरू धेरै दिन हिँडेर आउजाउ गर्थे।

रावलले भने, ‘त्यो बेला नेपाल भनेको काठमाडौंमात्र थियो। सरकारी कर्मचारी र राजाका नजिकका मान्छेमात्रै काठमाडौं आउजाउ गर्थे।’

सर्वसाधारणको प्रशासनिक ठाउँ डोटी थियो। दीपायल अदालतमा मुद्दा हारेर चित्त नबुझे सर्वोच्च अदालत जानेहरू काठमाडौं जान्थे। सुदूरपश्चिमबाट पारि जाने बाटो थिएन। उनीहरू भारतीय भूमि हुँदै नेपाल आउनुपथ्र्यो।

‘२०३८ सालतिर म बिमारी पर्दा नेपालगञ्ज जानुपर्ने भयो। साइकलमा बसेर दीकापुर पुगेँ। त्यहाँबाट कर्णाली नदीमा किस्ती तरेँ,’ रावलले भने, ‘राजापुरबाट कौडेला घाट तरेर हामी भारत हुँदै रुपैडियाबाट नेपालगन्ज पुगेका थियौँ।’

त्यो बेला नेपालगन्ज पुग्न उनलाई पूरै एक दिन लागेको थियो।

त्यसको केही समयपछि महाकालीबाट काटिँदै आएको महेन्द्र राजमार्गको पश्चिमी खण्डको चिसापानीसम्म ट्र्याक खुल्यो। यसपछि एकदुई ओटा गाडी चल्न थाले।

चिसापानीमा कर्णाली नदीमाथिको पुल बनेको थिएन। पुल बन्नुअघि कर्णाली नदीमा फेरी (फलामको चाक्लो सतह भएको ठूलो डुंगा) चल्थ्यो। फेरीले यात्रु बोक्ने गाडीभन्दा सामान बोक्ने ट्रक बढी तार्थे।

फेरीले तार्ने क्रममा एउटा ट्रक कर्णाली नदीमा खसेको स्थानीयवासी प्रजय धमालाले पनि देखेका थिए।

बस, ट्रक, भारी र मान्छे तार्ने मुख्य माध्यम फेरी नै थियो। फेरीले नै कर्णाली पारि र पारि जोडेको थियो।

उनले घटना सुनाए, ‘२०४५ साल भदौ महिना थियो, डाइभरले न्युट्रलमा छोडेर होला, फेरीमा तार्न लाग्दा ट्रक आफैँ गुडेर नदीमा खस्यो।’

त्यो बेला धमिलो पानीमा ट्रक हरायो। तीनचार महिनापछि पानी सङ्लो भयो, ट्रक देखियो, स्थानीयले नदीबाट निकाले।

उनी अहिलेको चिसापानी बजारमा होटल चलाउँछन्। त्यसबेला कलिलो उमेका थिए। उनले भने, ‘२०४६ सालतिर एउटामात्र फेरीले गाडी र ट्रक तार्न नसक्ने भएपछि अर्को पनि थपिएको थियो।’



चिसापानीमा बनेको कर्णालीको पुलले २०५० सालमा सुदूरपश्चिमलाई सिंगो नेपालसँग जोडेको थियो।

२०४४ सालतिर पुल बनाउने काम सुरु भयो। अहिले पुल नजिकै निकुञ्जको चेकपोस्ट भएको ठाउँनेर पुल निर्माणका कर्मचारी बस्ने कार्यालय बनेको थियो। त्यहाँ सिमेन्ट, सरिया आदि निर्माण सामग्री पनि राखिन्थ्यो।

धमलाका अनुसार पुलका केही भाग बनिबनाउ अवस्थामा ल्याइएका थिए। उनले भने, ‘यसको सामान जापानमा बनेर यहाँ जोड्ने काममात्रै भएको भन्ने सुनिन्थ्यो। साँचो कुरा त के हो, बनाउनेलाई नै थाहा होला।’

चिसापानीको पुल बनाउन जापानबाट मान्छे आएका थिए। कोरियालीहरू पनि आएका थिए भन्ने उनले सुनेका थिए। केही कामदार भारत र नेपालका पनि थिए।

उनले भने, ‘रातदिन नभनी काम भएको थियो। १४ मिटर गहिरो जग खनेर पुलको बीचको खम्बा ठड्याएका थिए।’

सुरुमा बीचको पिलर उठाएको र पुल जोड्दै तारले माथि बाँध्दै गरेर निर्माण कार्य भएको उनले देखेका थिए। पाँच मिटर लामो ‘सिंगल टावर केवल स्टेड’ यो पुलको ३७५ मिटर भाग कैलालीपट्टि र १२५ मिटर बर्दियापट्टि रहेको छ।

२०५० साल मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हेलिकोप्टरमा चिसापनी आए। उनैले पुलको उद्घाटन गरे।

उनले भने, ‘पुल बनेपछि हामी निकै खुसी भयौँ। गाडी चढ्न सजिलो हुने भयो, नेपाल पुग्न सहज हुने भयो भनेर खुसी भएका थियौँ।’

यस्तो डिजाइनमा नेपालमा बनेको एकमात्र पुल हेर्न कैलालीको चिसापानीमा मानिसहरू आइरहन्छन्। उनीहरू चिसापानीका माछा मन पराउँछन्। यही पुलले हो चिसापानीका मिठा माछा चिनाएको र यहाँको होटल व्यवसाय बढाएको।

कतिपय आगन्तुकहरु चिसापानीबाट उत्तरतिर पितमारीका चट्टान हेर्न पनि पुग्छन्। बर्दिया राष्ट्रिय निकुन्जमा हाती, बाघ, गैँडा, गोही आदि वन्यजन्तु हेर्न यहीबाट केही मानिस ठाकुरद्वारासम्म पनि पुग्छन्।

आगन्तुकहरूले चिसापानीका माछा मन पराएपछि व्यापार बढ्यो।

‘पुल बनेपछि यहाँ बस्ती बढ्यो, कटासे ओझेलमा पर्‍यो। लम्कीमा बजार बढ्न थाल्यो,’ धमलाले भने, ‘त्यसबेला ढुंगामाटोले बनेका र जस्ताका बेरा भएक केही साना पसल थिए। अहिले ठूला होटल चलेका छन्। कुनै समय मैले दिनमा ९० किलोसम्म माछा बेचेँ।’

अहिले पनि उनको होटलमा दैनिक १० किलोसम्म माछा खपत हुन्छ। होटल धेरै छन्। सबैमा माछा पाइन्छ।

सुदूरपश्चिमलाई सिंगो नेपालसँग जोड्ने एकमात्र विकल्प बनेको यही बाटोमा धेरै आवतजावत हुन थालेपछि बजारमा व्यापार फस्टाएको हो। अहिले चिसापानीमा ठूला होटल पनि खुल्ने क्रम चलेको छ।

कर्णालीमा उक्त पुल बनेपछि यहाँको विकासको ढोका खुलेको मानिन्छ। यसपछि महेन्द्र राजमार्ग कालोपत्रे भयो। अरू साना पुल बने। आवागमन सहज भयो।

पुलको हेरचाह गर्न सडक डिभिजन कार्यालय नेपालगञ्जले कर्मचारी खटाएको छ। उनीहरूले पुलको रेखदेख र सरसफाइ गर्छन्। पुलको अवस्थाबारे नियमित रिपोर्टङ गर्छन्।

सडक विभागको पुल महाशाखाको टोलीले दुई वर्षअघि पुलको अनुगमन गरेको थियो।

कर्णाली नदीमाथि कैलाली र बर्दिया जोड्न टीकापुरको सतीघाटमा पुल बनेको छ। बेलसेतमा बनेको पुलले अछाम र दैलेख जोडेको छ। कैलाली र सुर्खेत जोड्न कुहिनेघाटमा पनि पुल बनेको छ।

Copy link
Powered by Social Snap