२०८१ बैशाख २६

नेपाल बैंकले घडेरी किन्न लोन दिने, २० वर्षभित्र तिरे हुने




काठमाण्डौ । सुस्ताएको घरजग्गा व्यापारमा सहयोग हुने गरी नेपाल बैंकले घडेरी कर्जा ल्याएको छ । 

एकमुष्ट रकम नभएर घडेरी किन्न चाहेर पनि नसकिरहेकाहरुलाई लक्षित गर्दै नेपाल बैंकले एनबीएल घडेरी कर्जा नामको प्रडक्ट सार्वजनिक गरेको हो । 


Advertisement


यो प्रडक्टअन्तर्गत बैंकले घडेरी खरीदका लागि कर्जा दिनेछ । कर्जाको भुक्तानी अवधि बढीमा २० वर्षको राखिएको छ । यसको अर्थ हाल कर्जा लिएर घडेरी किन्न सकिनेछ भने त्यसको ऋण २० वर्षभित्र तिरे हुनेछ । 

‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने नारासहित ल्याइएको यो कर्जा प्रदान गर्ने प्रक्रियालाई निकै सरल बनाइएको र ब्याजदर पनि सुलभ हुने बैंकले जनाएको छ । 



नेपाल बैंकका देशभरका सबै शाखामार्फत यो कर्जा उपलब्ध रहेको बताइएको छ । 

नेपालका बैंकहरुले घरकर्जासँग सम्बन्धित प्रडक्टहरु लामो समयदेखि सार्वजनिक गर्दै आएका थिए । ठूला व्यवसायीहरुलाई रियल स्टेट कर्जा भनेर दिइन्थ्यो । तर, व्यक्तिलाई टार्गेट गरी सरल खालको घडेरी कर्जा भने सीमित संख्याका बैंकले मात्र ल्याएका छन् । 

राष्ट्र बैंकले पछिल्लो समय जग्गा धितो राखेर काठमाण्डौमा फेयर मार्केट भ्यालूको ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था गरेको छ ।

Copy link
Powered by Social Snap